
दुई दिनदेखिको देशभर अविरल वर्षासँगै सप्तकोशी नदीमा आज बिहानबाट बाढी उर्लिएर बाढीले खतराको तह पार गरेको छ । कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापन हुँदा खतराको तह पार गर्छ भने मंगलबार बिहान ६ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक छ ।
पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ । ब्यारेजका दुईवटै नहर बन्द गरिएको छ । पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने भएकाले नहर बन्द गरिएको हो ।
मंगलबार बिहानको बहावले खतराको सतह पार गरेकोले तटीय क्षेत्रमा सर्तक रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोशीमा बहाव बढ्दो क्रममा रहेको जनाएको छ ।
सप्तकोसीमा बहाव बढेसँगै पश्चिमी तटबन्धसँग टाँसिएका बस्तीहरु जोखिममा परेका छन् भने मध्यकोसीमा रहेको गोबरगाढा गाउँ पानीले घेरिएको छ । यसअघिकै बाढीमा स्थानीय तहले गोबरगाढाका बासिन्दाहरुलाई टापुबाट निकाल्ने प्रयास गरे पनि स्थानीयहरु निस्कन मानेका छैनन् ।