२२ बैशाख २०८२, सोमबार

त्रिशूली नदी मडारिएर झोलुङ्गे पुल भेट्यो पानीले (भिडियो सहित)

tirsuli

पछिल्लो समय परेको निरन्तर वर्षाको कारण त्रिशूली नदी मडारिएको बगेको छ । त्रिशुली नदीमा रहेका झोलुङ्गे पुलदेखि पक्की पुलहरु उच्च जोखिममा परेका छन् ।

त्रिशूली नदीमा पानीको सतह बढेपछि चितवनको भरतपुर महानगरपालिका–१, दासढुङ्गाको पक्की पुल समेत खतरनाक अवस्थामा पुगेको छ । पक्की पुलको पिल्लर पुरै पानीमा डुबेको छ । गोरखा–धादिङ हुँदै बग्दै आएको बुढीगण्डकी नदी बेनिघाटमा मिसिएर सुरु हुने त्रिशुली नदी उर्लिएको हो ।

त्यस्तै भरतपुर महानगरपालिका–२९, सिमलतालमा रहेको झोलुङ्गे पुलको बीच भागलाई त्रिशुली नदीले नाघेको छ । सिमलताललाई तनहुँसँग जोड्ने पुलको मध्यभागमा बाढीले हिर्काइरहेकाले पुल बग्ने खतरा बढेको छ । बाढीले पुल छोएपछि त्यहाँ आवतजावत बन्द भएको छ ।

https://www.facebook.com/nepalghatana/videos/322782725426014/

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार त्रिशुली नदीमा रहेका सबै पुल उच्च जोखिममा छ । उनले भने, ‘सिमलतालमा रहेको झोलुङ्गे पुलको दुवैतिर रहेको पर्खालसमेत भत्किने अवस्थामा छ ।’
त्रिशुली नदी उर्लिएसँगै चितवन, धादिङ, गोरखा र तनहुँ जिल्लाका विभिन्न क्षेत्रमा समेत बाढीको जोखिम बढेको छ ।

trishuli 1 LyrtBekPCV

बिहान ५ बजेदेखिको वर्षाको कारण मुग्लिन–नारायणघाट सडकखण्डमा मात्र एक दर्जनभन्दा बढी ठाउँमा पहिरो समेत गएको इन्सपेक्टर भट्टले जानकारी दिए ।

सोमबार साँझ चितवन र धादिङ जोड्ने मौवाखोला पुल बगाएपछि आवतजावत नै ठप्प भएको छ । लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको बेनिघाट रोराङ गाउँपालिका–१० बाँदरे, फुर्के खोला र महेश दोभानमा ठूलो पहिरो खसेको छ ।

pahiro

धादिङमा झन्डै डेढ दर्जन ठाउँमा पहिरो, तीन गाडी पुरिए

दुई दिनदेखिको अविरल वर्षाका कारण धादिङमा झन्डै डेढ दर्जन ठाउँमा पहिरो खसेको छ। जिल्लामा पर्ने पृथ्वी राजमार्गमा पनि ठाउँ ठाउँमा पहिरो खसेकाले यातायात अवरूद्ध भएको छ।

बेनीघाट रोराङ गाउँपालिका १० मा पहिरो खस्दा तीन सवारी साधन पुरिएका प्रहरीले जनाएको छ।

‘१६-१७ ठाउँमा कतै पहिरो कतै लेदो खसेको छ,’ जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सरोज राईले,’एक ठाउँमा तीन वटा गाडी पुरिएको भन्ने प्रारम्भिक जानकारी आएको छ।’

उनका अनुसार पहिरोमा एक जना बेपत्ता भएका छन्। क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ।

धादिङमा १ जना बेपत्ता दुई जना घाइते

धादिङमा पहिरोका कारण एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् । डीएसपी खड्काका अनुसार गजुरी गाउँपालिका– २ मा पहिरोले ६ घरमा क्षति भएको छ, एक जना बेपत्ता र एक जना घाइते भएका छन् । त्यस्तै बेनिघाट रोराङ गाउँपालिकामा एक जना घाइते भएका छन् ।