१३ बैशाख २०८१, बिहीबार

किशोरी बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

rape

किशोरी बलात्कारको आरोपमा कालीकोटका एक वडा अध्यक्ष पक्राउ परेका छन् । खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदिश शाही १६ वर्षीया किशोरी बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।

जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जगधीश शाहीलाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो । 

वडा अध्यक्ष शाहीले आफ्नै गाँउकी बहिनी नाता पर्ने एक १६ वर्षीया किशोरीलाई तीन वर्षदेखि लगातार बलात्कार गर्दै आएको भनी प्रहरीमा उजुरी परेको थियो । साही उजुरीका आधारमा शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलीयाले बताए ।

उनका अनुसार वडा अध्यक्ष शाहीविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएको छ । पीडित किशोरीको जाहेरी र बयानका आधारमा मुद्धा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको छ । 

सोधपुछका क्रममा वडा अध्यक्ष शाहीले उ आफ्नो बहिनी नाता पर्ने र उनीसँग कुने अनैतिक सम्बन्ध नरहेको र आफूलाई फसाउन खोजिएको भनेको प्रहरीको भनाइ छ ।  
पीडित किशोरीका अनुसार वडा अध्यक्ष शाहीसँग २०७४ साल बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको उम्मेद्वार भएर भोट माग्न जाँदा पहिलो पटक चिनजान भएको थियो ।

 पछि उनले वडा अध्यक्ष जितेपछि किशोरीले पढ्ने विद्यालयमा जाँदा भेट भयो । उनी त्यति बेला कक्षा ७ मा पढ्ने जेहेन्दार विद्यार्थी थिइन् । उनले बहिनी भनेर निकै माया देखाए । सहयोगी दाइ बने । तीन वर्षदेखि बलात्कृत भएको बताउने किशोरीले भनिन्, ‘सुरु सुरुमा बहिनी भनेर अँगालो हाल्ने, माया गर्ने जस्ता व्यवहार गर्दा मैँले दाइजस्तै माने । एक दिन विद्यालयबाट घर फर्किँदै गर्दा आफूलाई कोल हालेर घरभित्र लगेर बलात्कार गरे ।’

उनले भनिन्, ‘वद्यिालयबाट मेरो घर जाने बाटो वडा अध्यक्षको घरबाटै थियो । दाइले बहिनीलाई त्यस्तो व्यवहार गर्ला भन्ने कल्पना नै थिएन् । बाहिर भनेपछि मारिदिने धम्की दिए । मैले पीडा सहेर कसैलाई पनि भनिन् ।’

त्यसपछि उनले मलाई पटक–पटक बलात्कार गरे । मैले डरले कसैलाई पनि भनिन् । यही असारमा गाँउकी एक जना साथीले आफूलाई बोलाउन घर आइन् । म बिरामी परेर सुतेकी थिएँ । वडा अध्यक्ष घरमा आएर पुनः बलात्कार गर्दै थिए । ती साथीले सबै देखिन् । उनलाई पनि वडा अध्यक्षले कतै केही नभन्न धम्की दिएर भागेको पीडित किशोरीले बताएकी छिन् । 

बुधबार जिल्ला अदालत कालिकोटबाट म्याद थप गराई थप अनुसन्धान गरिने डीएसपी ओलियाले बताए ।

उनका अनुसार वडा अध्यक्षलाई करणीसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ ।

पीडित किशोरीको जाहेरी र बयानका आधारमा मुद्धा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।