१२ बैशाख २०८१, बुधबार

सरिता गिरीलाई सांसद र पार्टीबाट निष्कासन गर्न कार्यदलको सिफारिस

saritagiri

समाजवादी पार्टीकी सांसद सरिता गिरीबारे अध्ययन गर्न बनेको पार्टीको कार्यदलले उनलाई पदबाट हटाउन सिफारिस गरेको छ।  त्यसअनुसार पार्टीले निर्णय गरेमा गिरीको सांसद पद कायम रहने छैन ।

पार्टी ह्वीप उल्लंघन गरेको आरोपमा गिरीलाई कारबाहीका लागि सिफारिस गरिएको हो।लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा सांसद गिरीले पार्टी ह्वीप उल्लंघन गरेकी थिइन्।

पार्टी महासचिव रामसाहयप्रसाद यादव नेतृत्वको कार्यदलले गिरीलाई मंगलवार सांसद पदबाट हटाउन सिफारिस गरेको हो ।

संविधानको अनुसूची ३ मा रहेको निसान छाप परिवर्तनका लागि कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएको नक्सा संशोधनका लागि ल्याइएको संविधान संशोधन विधेयकको उनले संशोधन प्रस्ताव हालेकी थिइन् ।

जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो। समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। संसदमा बोल्न नपाएपछि सांसद गिरी भने बैठक चलिरहँदा बाहिरिएकी थिइन्।

पार्टी सचेतक उमाशंकर अरगरियाले संशोधन प्रस्ताव फिर्ता लिन भन्दै गिरीलाई निर्देशन दिए पनि उनले अस्विकार गरेकी थिइन्।

सो विषयमा छानबिन गर्न समाजवादी पार्टीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो। कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए। यादव नेतृत्वको कार्यदलले गिरीलाई कारबाहीको सिफारिसका लागि पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ।

संविधान संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने दिन उनी मतदानमा सहभागी भइनन्।

तथ्य र प्रमाणका आधारमा राष्ट्रिय महत्वको विषयमा पार्टी निर्देशन र ह्वीप नमानेको कारण पार्टी र संसदबाट निष्कासन गर्न सिफारिस भएको छ,’ स्रोतले भन्यो,’पार्टी पदाधिकारी बैठकले यसलाई अनुमोदन गरेपछि निर्वाचन आयोगमा पत्र जान्छ।’

कार्यदलको सिफारिसबारे छलफल गर्न समाजवादी पार्टीको पदाधिकारी बैठक बस्दैछ। उक्त सिफारिसको आधारमा पार्टीले निर्णय गर्नसक्ने छ।