१३ बैशाख २०८१, बिहीबार

गंगालाल अस्पतालमा उपचाररत सात जनामा कोरोनाको संक्रमण पुष्टि, आकस्मिक बाहेकका सबै सेवा बन्द

Gangalal National Heart Centre.jpg 1

सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीमा उपचाररत सात जना बिरामीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ।

उपचारका लागि भर्ना भएका सात जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। कोरोना पुष्टि भएसँगै मंगलबार बिहानदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ। बिरामीमा कोरोनाको संक्रमण पुष्टि भने सोमबार साँझ भएको थियो।

अस्पतालले आज सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि सेवा बन्द गरिएको जनाएको छ ।

अस्पतालका अनुसार थप सतर्कता अपाउनु पर्ने भएकाले आकस्मिक बाहेकका सेवा बन्द गरिएको हो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले उपचाररत बिरामीको कन्ट्याक ट्रेसिङको काम सुरु गरिएको बताए।

उनले अन्य कति जनामा पुष्टि भएको भन्नेबारेमा खुलाउन चाहेनन् । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गंगालालमा भर्ना भएका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अन्यको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

पछिल्लो समय अस्पतालमा भर्ना भएका बिरामी र स्वास्थ्यकर्मीमा संक्रमण बढेको पाइएको छ। यसअघि ह्याम्स अस्पताल, नर्भिक अस्पताल, त्रिवि शिक्षण अस्पताल लगायतमा भर्ना भएका बिरामी तथा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार काठमाडौंमा मात्रै २४ जनामा कोरोनाको संक्रमण भेटिएको थियो।