२९ बैशाख २०८१, शनिबार

झलनाथ खनाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

vet jn chinese

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउन चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको छ ।

सोही क्रममा राजदूत यान्छीले नेकपाका शीर्ष नेताहरुसँगको भेटघाटलाई तीव्र बनाएकी हुन् । भेटवार्ताका लागि राजदूत होउ मंगलबार बिहान खनाल निवास डल्लु पुगेकी थिइन् ।

मंगलबार बिहानमात्रै यान्छी र नेकपाका वरिष्ठ नेता झलनाथ खनालबीच झण्डै ४५ मिनेट भेटवार्ता भएको छ ।

स्रोतका अनुसार नेता खनालालाई भेट्न यान्छी बिहान ९ बजे खनाल निवास डल्लु पुगेकी थिइन् । त्यहाँबाट उनी ४५ मिनेटपछि बाहिरिएकी थिइन् । कुराकानीका विषय सार्वजनिक नभए पनि राजदूत होउले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेको बुझिएको छ ।

यसअघि उनले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेटवार्ता गरेकी थिइन् । आइतबार साँझ राजदूत होउले नेपाललाई उनकै निवास कोटेश्वर पुगेर भेटवार्ता गरेकी थिइन् । सत्तारुढ दलभित्र शक्ति संघर्ष चुलिएका बेला चिनियाँ राजदूत होउको सक्रियतालाई राजनीतिक बृत्तमा अर्थपुर्ण रुपमा हेरिएको छ ।

यसअघि गत वैशाखमा नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला पनि राजदूत होउको सक्रियता बढेको थियो । त्यसक्रममा उनले नेकपाका शीर्ष नेताहरुसँग भेटेपछि विवाद केही मत्थर भएको थियो ।

नेकपा नेताहरूसँगको राजनीतिक भेटवार्ताहरुमा राजदूत होउले एकताबद्ध भएर अघि बढ्न सुझाव दिने गरेको चर्चा छ । चिनियाँ राजदूतको सक्रियतालाई कतिपयले नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो दिएको भनेर आलोचना गर्ने गरेका छन् ।

नेकपा स्थायी कमिटीको बैठकमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम पक्षका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि आन्तरिक संघर्ष चर्किएको थियो । ओली पक्षले राजीनामा नदिने बरु नयाँ पार्टी खोल्ने धम्की दिएपछि ओली इतर समूह केही मत्थर देखिएको छ । नेकपाभित्रको विवाद मत्थर हुनुलाई कतिपयले चिनियाँ राजदूतको सक्रियतासँग पनि जोडेर हेर्ने गरेका छन् ।

केही दिन पहिले यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटेका खवरहरु सार्वजनिक भएका थिए ।