Close Me
३ माघ २०८१, बिहीबार

काे बन्छ नयाँ २८ औं आईजीपी?, आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद बैठक ४ बजे बस्दै

Sailesh Thapa Hari Pal

नेपाल प्रहरीले आज २८ औं महानिरीक्षक (आईजीपी) पाउने सम्भावना रहेकाे छ ।

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अनिवार्य अवकाश पाउने भएपछि नयाँ आईजीपी नियुक्त गर्न आज मन्त्रिपरिषद बैठक बस्दैछ। आज अपरान्ह चार बजे बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ आईजीपी नियुक्तिको टुं‍गो लगाउने बताइएकाे छ ।

मन्त्रिपरिषद् बैठक दिउँसो ४ बजे बोलाइएको छ ।

आईजीपी ज्ञवालीसँगै एआईजी तारिणीप्रसाद लम्लास र डिआईजी सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउँदैछन्। ज्ञवालीले अवकाश पाएपछि एआईजीहरु शैलेश थापा क्षेत्री र हरि पालमध्ये एक जना आईजीपी हुने निश्चित भएपनि उनीहरु मध्ये को हुन्छन भन्ने बारेमा भने अहिलेसम्म कौतुहलता नै छ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीद्धय) शैलेश थापा क्षत्री र हरि पालमध्ये एकजनाले नेपाल प्रहरीको नेतृत्व सम्हालनेछन् । थापा योजना बनाउन सिपालु मानिन्छन् भने पाल ‘एक्सन’मा दरिला छन् ।

उपेन्द्रकान्त अर्याल अवकाश पाएपछि डिआइजीबाट आईजीपी बन्दै आएका थिए। वर्तमान आईजीपी ज्ञवाली पनि डीआईजीबाटै नियुक्त भएका हुन्। पाल र थापा दुवै ०४९ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट सेवा प्रवेश गरेका हुन्। प्रहरीभित्र दुवै व्यावसायिक अधिकृत मानिन्छन्। आईजीपी नियुक्ति सरकारले गर्ने भएकाले प्रधानमन्त्री वा गृहमन्त्रीसँग नजिक भएका व्यक्ति वा उनीहरुले रुचाएका अधिकृत मात्रै आइजीपी हुनेछन्।

नयाँ आईजीपी नियुक्तिसम्बन्धि प्रस्ताव प्रधानमन्त्री ओलीसमक्ष लैजान गृह मन्त्रालयले तयारी थालेको छ । नयाँ आईजीपीको कार्यकाल २०७९ वैशाख १७ गतेसम्म रहन्छ । 

प्रहरी नियमावलीमै सरकारले उपयुक्त लागेको जुनसुकै व्यक्तिलाई एआइजी वा डिआइजी मध्येबाट आईजीपी बनाउन सक्ने उल्लेख भएका कारण दुई मध्ये एक जना हुने अवस्था आएको हो।

प्रधानमन्त्री, सत्तारूढ दलको अध्यक्ष, गृहमन्त्री प्रतिपक्षी दलको समेत चासो रहने गर्छ। अहिले एकै पार्टीको नेतृत्वमा सरकार रहेकाले प्रधानमन्त्रीले रोजेको व्यक्ति नै आईजीपी हुने संभावना बलियो रहेको छ।

प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार कार्यसम्पादन मूल्यांकनको औसतका आधारमा दिइने अंक पालको भन्दा थापाको बढी छ । प्रतिस्पर्धा रहेका थापा र पाल विगतमा विवादमा तानिएका छैनन्।

थापाले हालसम्म झापा, कास्की, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, प्रहरी प्रवक्तालगायत कमान्ड सम्हालेका छन्। हाल उनी मानव स्रोत एवं प्रशासन विभागको प्रमुख छन्।

पालले कास्की, रूपन्देही, धनुषा, नुवाकोट, डडेलधुरा, प्रदेश २ र विशेष ब्युरोलगायत महत्वपूर्ण स्थानको जिम्मेवारी निर्वाह गरेका छन्। हाल उनी अपराध अनुसन्धान तथा कार्य विभागको प्रमुख छन्। दुवै प्रहरी अधिकृतहरु विवादमा नतानिएका कारण अहिले दुवैको उस्तै उस्तै अवस्थामा रहेका छन्।

वर्तमान आईजीपी ठाकुर ज्ञवालीले २४ असारदेखि ३० वर्षे सेवा अवधीको कारण अनिवार्य अवकाश पाउँदैछन् । त्यसकारण नयाँ आईजीपी नियुक्त गर्न लागिएको हो ।