१६ चैत्र २०८०, शुक्रबार

अन्तरदेशीय अपराध रोक्न आपसी सहकार्य जरुरी

igp sailesh thapa

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सङ्गठित र बढ्दो अन्तरदेशीय अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानका लागि कानून कार्यान्वयन गर्ने विश्वभरका निकायबीच आपसी सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

मित्रराष्ट्र चीनमा शुरु भएको अन्तरदेशीय अपराध नियन्त्रणका सम्बन्धमा आन्तरिक मामिलामन्त्री र सुरक्षा अधिकारीबीच भएको बैठकलाई भर्चुअल माध्यमबाट आज सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक थापाले विज्ञान र प्रविधिको विकाससँगै भित्रिएका नवीन सुरक्षा चुनौतीको सफलतापूर्वक समाधान गर्न पनि सहकार्य जरुरी हुने धारणा व्यक्त गर्नुभयो ।

विद्युतीय अपराध, अन्तर्राष्ट्रिय सङ्गठित अपराध, सीमा, मानव बेचबिखन, आर्थिक, लागुऔषध ओसारपसारजस्ता अपराधको नियन्त्रण गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।

अपराध नियन्त्रणको क्षेत्रमा विद्यमान ऐन कानूनको अधिनमा रही सूचनाको आदानप्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले साझेदारी स्थापनाका लागि हातेमालो गरी अघि बढ्न नेपाल प्रहरी सदैव तयार रहेको बताउनुभयो ।

बिहीबार सम्पन्न हुने उक्त फोरममा ३० भन्दा बढी राष्ट्रका आन्तरिक मामिलामन्त्री, प्रहरी प्रमुख र प्रतिनिधिले सुरक्षा साझेदारी र सहयोगका विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।