१२ बैशाख २०८१, बुधबार

आजपनि ओली–प्रचण्ड ‘वान टु वान’ वार्ता, दुई–तीन दिनभित्रै अन्तिम ‘निष्कर्ष’

oli prachanda

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच उत्कर्षमा पुगेको विवाद केहि मत्थर हुँदै गएको छ ।

पार्टी भित्रको संकट समाधानका लागि प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज मंगलबार पनि ‘वान टु वान’ वार्ता हुँदैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता हुने भएपनि समय तय भइनसकेको प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले जानकारी दिए ।

‘वार्ता हुन्छ तर अहिले नै समय तय भइसकेको छैन । दुवै अध्यक्षको सेड्युल हेरेर समय तय हुन्छ’, बालुवाटार स्रोतले भन्यो, ‘सम्भवत ११ बजेपछि हुनसक्छ ।’

प्रचण्डको सचिवलयले पनि ११ बजेपछि दुई नेताबीच वार्ता हुनसक्ने जनाएको छ ।‘उहाँहरु (अध्यक्षद्वय) बीच आज पनि छलफल हुँदैछ, तर समय निश्चित भइसकेको छैन,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा (जुगल) ले भने, ‘सम्भवतः बिहान ११ बजेपछि छलफल शुरु हुन्छ होला ।’

नेताहरुबीच सोमबार झण्डै डेढ घण्टा ‘वान टु वान’ वार्ता भएको थियो । सोमबार वार्ता सुरु भएपनि पुन छलफल गर्नेगरी दुवै नेता उठेका थिए ।

पार्टी विभाजनकै अवस्थामा पुग्ने गरी विवाद चर्किएपछि सोमबार पनि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक्ला–एक्लै छलफल भएको थियो । आइतबार अन्य नेताहरुसहित वार्तामा बसेका उनीहरु सोमबार भने एक्ला एक्लै छलफलमा बसेका थिए ।

यसअघि आइतबार भएको वार्तामा दोस्रो तहका नेताहरु समेत सहभागी भएपनि सोमबारबाट दुई अध्यक्षबीचमात्रै वार्ता गर्ने दुवै नेतावीच सहमत भएका थिए ।

त्यस्तै आवश्यक परे पार्टी वरिष्ठ नेतालाई समेत वार्तामा बोलाउन सकिने उनीहरुबीच कुराकानी भएको थियो । यसैवीच वार्तामा आफ्नो पक्षको सहभागीता नखोजिएको भन्दै बरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका छन् ।

नेताहरुबीच सहमति खोजन भन्दै जारी स्थायी समिति बैठक बुधबारसम्म स्थगित गरिएको छ । स्थायी समिति बैठकमा बहुमत सदस्यले ओलीको राजीनामा मागेपनि ओली राजीनामा नदिने पक्षमा छन् ।

प्रधानमन्त्री ओलीले पार्टी र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनु पर्ने प्रचण्डको माग र दुवै पद नत्याग्ने ओलीको अडानका कारण पार्टी फुटको संघारमा नेता–कार्यकर्ताको दवावका कारण दुई नेता छलफलबाट विवाद समाधान गर्न सकारात्मक बनेका हुन् ।

आज र भोलिसम्म नेकपामा सहमति हुने वा नहुने टुङ्गो लाग्ने एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् । अबको एक–दुई दिन नेकपाका लागि महत्वपूर्ण दिन रहेको र यसपछि विवादले अन्तिम फैसला दिने उनी बताउँछन् ।