१३ बैशाख २०८१, बिहीबार

नेकपाका ३ शीर्ष नेता शितलनिवासमा

sital niwas

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति भवन शितल निवास पुगेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई र राष्ट्रपतिलाई अविस्वास र महाभियोग लगाएर हटाउन लागिएको भन्ने अभिव्यक्तिको प्रष्टीकरण लिन नेकपाका ३ शीर्ष नेता शीतलनिवास पुगेका छन् ।

नेकपाभित्रको विवाद चर्किँदै गएपछि उनीहरु राष्ट्रपतिलाई भेटन बिहान ११ बजे शितल निवास पुगेका हुन्।  आइतबार बिहान अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल राष्ट्रपति भवन शीतल निवास पुगेका हुन् ।

शनिबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्का सदस्यहरुलाई बालुवाटार बोलाएर पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको भन्दै अब पार्टी एक रहन नसक्ने सम्भावना रहेको बताएका थिए । त्यस क्रममा उनले मन्त्रीहरुलाई कित्ता क्लियर गर्न आग्रह गरेका थिए ।

यसअघि शनिबार प्रधानमन्त्री ओलीले पनि राष्ट्रपति भण्डारीसँग छलफल गरेका थिए।

राष्ट्रपतिसँग छलफल गरेर फर्किएका ओलीले बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरूसँग राष्ट्रपतिमाथि महाअभियोग लगाउने षडयन्त्र भइरहेको बताएका थिए।

त्यो बाहेक प्रधानमन्त्री ओलीले आफूलाई पार्टीभित्रकै नेताहरुले हटाउन खोजेको र राष्ट्रपतिलाई पनि महाभियोग लगाउन खोजेको प्रमाण आफूसँग रहेको दलिल पेश गरेका थिए ।

प्रधानमन्त्रीको यो अभिव्यक्तिपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरुले राष्ट्रपतिलाई विवादमा तान्ने वा हटाउने कुनै तयारी नरहेको भन्दै भ्रममा नपर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्रीको यो अभिव्यक्ति आएपछि राष्ट्रपतिसँग वास्तविकता बुझ्न प्रचण्डलगायतका नेताहरु शीतल निवास गएका हुन् ।