६ बैशाख २०८१, बिहीबार

प्रधानमन्त्री ओली र देउवा गोप्य भेटले ल्याएको तरंग

oli deuwa

प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको विषयले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र तरंग ल्याएको छ।

सत्तारूढ नेकपाभित्रको शक्ति संघर्ष सतहमा आइरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच तीन दिनअघि बालुवाटारमा भएको भेटघाटलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ । देउवा र ओलीबीच असार १७ गते राति बालुवाटारमा करिब डेढ घण्टा गोप्य छलफल भएको थियो ।

संसद अधिवेशन अन्त्य गरिनु एक दिनअघि (असार १७ गते) प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएर देउवासँग भेटेको खुलेपछि अनेक आशंका गरिएका छन्।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताहरूले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट ओलीलाई राजीनामा दिन स्थायी समिति बैठकमै आग्रह गरेपछि नेकपाभित्र विवाद छ।

नेकपाभित्रको विवाद चुलिएका बेला देउवालाई भेटेर प्रधानमन्त्री ओलीले नेकपा पार्टी फुट्यो कांग्रेससँग मिलेर संयुक्त सरकार बनाउने प्रस्ताव गरेको चर्चा नेकपा नेताहरूबीच नै भइरहेको छ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिका अनुसार त्यस दिनको भेटघाट संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिको विषयलाई लिएर मात्र भएको थियो । ‘प्रधानमन्त्रीले बोलाइसकेपछि प्रमुख विपक्षी दलको नेता नजाने स्थिति हुन्न । भेटघाटमा नेकपाभित्रको विवाद र घटनाक्रमबारे केही कुरा भयो कि भनेर हामीले पनि सभापतिजीसँग चासो राखेका थियौं तर उहाँले त्यसबारे कुरै नभएको र आयोगका पदाधिकारी नियुक्तिका विषयमा छलफल भएको बताउनुभयो,’ निधिले कान्तिपुरसँग भने, ‘सभापतिले त्यति भनिसकेपछि आशंका गर्ने कुरै भएन ।’

ओली र देउवाबीचको भेटघाटले नेकपामा ओलीइतर खेमालाई त आशंकित बनाएकै छ, कांग्रेसभित्र पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सशंकित छ । देउवाप्रति लक्ष्य गर्दै पौडेलले शनिबार एक सार्वजनिक कार्यक्रममै अंकगणितको जोड, घटाउमा कांग्रेस लाग्न नहुने बताए । ‘कांग्रेसले कम्युनिस्ट विभाजन भएर सत्ताप्राप्ति होला भनेर लाग्नुहुन्न । जोड, घटाउ गरेर सत्ताप्राप्तिका लागि होइन, सिद्धान्त र आदर्शको राजनीति अवलम्बन गर्नुपर्छ,’ सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले राजधानीमा आयोजना गरेको कार्यक्रममा पौडेलको भनाइ थियो, ‘अरूको घर भत्केला र आफ्नो घर बन्ला भन्ने सोच्नु दुर्भाग्यपूर्ण हुुन्छ ।’

ओली र देउवाबीचको सम्बन्ध

कांग्रेस केन्द्रीय कार्यसमितिको वैशाख १७ गतेको निर्णयले कांग्रेस र प्रधानमन्त्री ओलीबीचको सम्बन्धलाई कति तिक्ततापूर्ण छ भन्ने प्रस्ट्याउँछ । राजनीतिक दल र संवैधानिक परिषद्को बैठकसम्बन्धी कार्यविधि संशोधन गर्न जारी भएका दुई अध्यादेशको पृष्ठभूमिमा बसेको कांग्रेस बैठकले ओलीको राजीनामा मागिसकेको छ । विभिन्न घटनाक्रम जोड्दै कांग्रेसको उक्त बैठकले ओलीको नेतृत्वको सरकारले शासन गर्ने राजनीतिक एवं नैतिक आधार गुमाएको ठहर गरेको छ ।

त्यसपछिका बैठकमा पनि कांग्रेसले यो निर्णयलाई दोर्‍याएको छ । स्वयं सभापति देउवाले संसद्मा सम्बोधनका क्रममा पनि पार्टीको यही धारणा उल्लेख गरेका छन् । आसन्न महाधिवेशनलाई लिएर कांग्रेसमै पनि आन्तरिक शक्ति संघर्ष जारी रहेकाले देउवाले चाहँदैमा आफूअनुकूल निर्णय गराउन सक्ने परिस्थिति पनि छैन ।

देउवा र ओलीबीचको सम्बन्धमा विश्वासभन्दा अविश्वास बढ्ता छ । पछिल्लो पटक यी दुई नेताबीच ‘सुपरग्लु’ एमसीसी बन्न पुगेको छ । संसद्बाट एमसीसी सम्झौता अनुमोदन गराउने सवालमा ओलीभन्दा देउवा एक कदम अघि थिएरछन् । जसले ओली र देउवाबीचको तिक्ततालाई कम गराउन सघाएको थियो । एमसीसीलाई छाड्ने हो भने उनीहरूबीचको सम्बन्ध आरोह–अवरोहबीच नै गुज्रिएको छ । ओली नेतृत्वको पहिलो सरकार गिराउने मुख्य भूमिकामा देउवा नै थिए । त्यही घटनाबाट ओली देउवाप्रति बढी नै असहिष्णु बने । ओली दोस्रो पटक सरकारमा पुगेपछि पनि सम्बन्धमा खासै सुधार देखिएन । बरु देउवाले सरकारका कमजोरीप्रति आक्रामक नभई राज्यका संयन्त्रमा आफ्नो सहभागिता खोज्न थालेका छन् ।