१५ बैशाख २०८१, शनिबार

न्युजिल्यान्डको दक्षिण अफ्रिकासँग फराकिलो हार

1696218529009 Cricket South Africa and Cricket New Zealand

आईसीसी विश्वकप अन्तर्गतको बुधबारको खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकासँग १९० रनको फराकिलो हार व्यहोरेको छ ।

दक्षिण अफ्रिकाले दिएको ३५८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३५ दशमलव ३ ओभरमा १६७ रन बनाएर अलआउट भयो ।

पुनेमा न्युजिल्यान्डले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ५० ओभरमा ४ विकेट गुमाएर ३५७ रनको योगफल बनायो । जसका लागि क्विन्टन डी कक र रस्सी भान डेर डुसेनले शतक प्रहार गरे । कप्तान टेम्बा बभुमा पहिलो विकेटका रुपमा २४ रनमा आउट भएका थिए । उनलाइ ट्रेन्ट बोल्टले आउट गरेका हुन् ।

दोस्रो विकेटका लागि किबी बलरले लामो समय कुर्नुपर्यो । डी कक र डेर डुसेनले दोस्रो विकेटका लागि दुई सय रनको साझेदारी गरे । ग्लेन फिलिप्सले यो साझेदारी तोड्दा डी ककले ११४ रन जोडेका थिए । जारी विश्वकपमा उच्च र्फममा रहेका डी ककको यो चौथो शतक हो । ११६ बल खेलेका उनले १० चौका र तीन छक्का प्रहार गरेका थिए । डुसेनले १ सय १८ बलमा १३३ रनको योगदान गरे । उनले यो विश्वकपमा दोस्रो पटक शतक बनाएका हुन् । उनलाई टिम साउथीले बोल्ड गरेका थिए । डेबिड मिल्लरले आक्रमक ब्याटिङ गर्दै ३० बलमा ५३ रन जोडे । साउथीले दुई, बोल्ट र जेम्स निसमले एक-एक विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६० रन जोडे । डार्यल मिचेल २४ र विल योङले ३३ रन जोडे । अन्य खेलाडी भने दक्षिण अफ्रिकी बलर सामु टिक्न सकेनन् ।

दक्षिण अफ्रिकाका लागि केशभ महाराजले सर्वाधिक चार विकेट लिए । मार्को जानसेनले तीन, जेराल्ड कोट्जेले दुई र कागिसो राबदाले एक विकट लिए ।

    सम्बन्धित समाचार...