१५ बैशाख २०८१, शनिबार

रिगलविरुद्धको मुद्दामा आज अदालतको निर्णय आउने

rigal

राष्ट्रपतिबाट कैद मिनाहा पाएका रिगल भनिने योगराज ढकालको कैद माफी खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा सुनुवाइ सकिएको छ । कायम मुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासले आज निर्णय सुनाउनेछ ।

रिटमाथि कामु प्रधानन्यायाधीश खतिवडा र न्यायाधीशहरु सपना प्रधान मल्ल तथा कुमार चुँडालको पूर्ण इजलासमा अस्ति र हिजो सुनुवाइ भएको थियो । निवेदक र विपक्षी दुवैतर्फका कानुन व्यवसायीको बहस सकिए पनि आदेश भने आज मात्रै सुनाइने भएको हो ।

अस्ति (मंगलबार) निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, यज्ञनिधि न्यौपानेलगायतले बहस गरेका थिए भने विपक्षी सरकारका तर्फबाट महान्यायाधिवक्ता दीनमणि पोखरेल, नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र विश्वराज कोइरालाले बहस गरेका थिए ।

यस्तै ढकालका तर्फबाट वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, लव मैनालीलगायतले बहस गरेका थिए । आफ्ना पतिको हत्याका दोषी ढकाललाई राष्ट्रपतिले कैद मिनाहा गरेको भन्दै मृतक चेतन मानन्धरकी पूर्वश्रीमती भारती शेर्पाले रिट दायर गरेकी थिइन् ।

उक्त रिटमा गत असोज १९ मा मनोज शर्माको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै पूर्ण इजलास गठन गरी निरन्तर सुनुवाइ गरेर शीघ्र टुंगो लगाउन आदेश दिएको थियो ।

ढकालले २०७२ असार २८ मा नेपालगन्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको ठहर गर्दै अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

    सम्बन्धित समाचार...