१९ बैशाख २०८१, बुधबार

नेपाल र भारतबीचको सम्बन्धमा चिनियाँ राजदूत छन् सोङको अभिव्यक्ति असहज: मीनेन्द्र रिजाल

minendra rijal
फाइल फोटो

नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले संयुक्त राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सहभागिता स्वाभाविक भएको बताएका छन् । साथै उनले चीन भ्रमण पनि हुनैपर्ने औंल्याए ।

‘राष्ट्रसंघीय महासभामा जाने प्रधानमन्त्रीको कार्यक्रमलाई मैले हुनपर्ने र स्वाभाविक भ्रमणका रुपमा बुझेको छु । यस्ता भ्रमण सधैं नै उपयुक्त हुन्छ । आम निर्वाचनपछि बनेको सरकारको प्रमुखले महासभालाई गर्ने सम्बोधन पनि स्वाभाविक हो । चीन भ्रमण त झन् नगर्ने कुरै भएन,’ ‘नेपाली बहस’सँग उनले भने ।

नेता डा. रिजालले नेपाल र भारतबीचको सम्बन्धमा चिनियाँ राजदूत छन् सोङको अभिव्यक्ति असहज किसिमको भएको टिप्पणी गरे । उनले थपे, ‘मित्रराष्ट्र भारतसँग हामी चीनसँग भन्दा धेरै आयामबाट जोडिएका छौं । सबभन्दा नजिकको मित्रका बारेमा हामीले नै बढी जानेका छौं । त्यसैले चिनियाँ राजदूतले त्यो विषयमा नबुझीकन बोल्नु असहज हुन्छ । नेपाल र चीन सम्बन्धमा भारतका राजदूतले बोले पनि त्यो उचित हुन्न । राजदूतले जिम्मेवारीपूर्वक बोल्नुपर्छ । यस विषयमा सरकारले आवश्यक सोधपुछ गर्ला । मैले धेरै जान्ने भएर टिप्पणी गर्नु आवश्यक छैन ।’

चिनियाँ राजदूतको अभिव्यक्ति र नेपालको भूमि आफ्नो नक्सामा नसमेट्नुले कूटनीतिक कमजोरी देखाएको पनि डा. रिजालले बताए । उनले भने, ‘२०१८ सालदेखि हाम्रो स्वामित्वको लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूमि भारतले प्रयोग गरिरहेको छ । त्यो भूमि चीनले पनि स्वीकारेन । यसले मित्रराष्ट्रसँगको सम्बन्धको आधार र परराष्ट्र नीति कुन तागतमा उभिएको रहेछ भन्ने छर्लंग भयो । कुनै पनि मुलुकले सार्वभौम मुलुकको व्यवहार गरोस् भन्ने चाहना अनुसार त्यसमा मिहिनेत गर्नुपर्छ भन्ने लाग्छ ।’
प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणका एजेन्डा के-के हुन सक्छन् भन्ने पत्रकार धमलाको प्रश्नमा कांग्रेस नेता डा. रिजालले भने, ‘पहिलो कुरा त कूटनीतिक ज्ञान मेरो विषय होइन । म सांसद वा परराष्ट्र मन्त्रालय सम्हालेको व्यक्ति पनि होइन । यसमा मैले धेरै चासो दिनुपर्ने कारण छैन । भारत र चीनसँग हाम्रो सम्बन्धको संवेदनाशीलता र गाम्भीर्यबारे हलुका टिप्पणी गर्नु उचित हुन्न ।’

चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना सकेसम्म अनुदान नसके चित्त बुझ्ने सस्तो ब्याजदरमा सम्पन्न गर्नु नै नेपालको राष्ट्रिय स्वार्थ हुने उनले औंल्याए । डा. रिजालले भने, ‘बीआरआई प्रोजेक्टमा अहिलेसम्म एउटा पनि काम भएको छैन । त्यसैले यो अगाडि बढेको छ भन्ने कुरा छैन । म उत्तर-दक्षिण रेलमार्ग बनोस् भन्ने पक्षमा छैन । म त चीनले रसुवागढीसँगको बाटो, जोगबनी–किमाथांका, कोशी करिडोर, गण्डकी करिडोर, कर्णाली करिडोर बनाइदियोस् भन्ने पक्षमा छु । बीआरआई परियोजना सकेसम्म अनुदानमा नसके चित्त बुझ्ने सस्तो ब्याजदरमा सम्पन्न गर्नु नै हाम्रो राष्ट्रिय स्वार्थ हुनुपर्छ ।’

जी–२० बैठकले भारतको अन्तर्राष्ट्रिय भूमिका बढेको पनि रिजालको टिप्पणी छ । उनले भने, ‘काठमाडौंमा बसेर मसँग दुनियाँको ज्ञान छ भन्ने कुरा होइन । तर यो बैठकले चीन र अमेरिका सम्बन्ध प्रतिस्पर्धाभन्दा असहजतातिर गइरहेका बेला भारतको महत्त्व झन् झन् बढेको देखिएको छ । भारतको अन्तर्राष्ट्रिय भूमिका बढेको छ ।’

कांग्रेस नेता रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनचाहना अनुसार प्रभावकारी काम गर्न नसकेको आरोप पनि लगाए । उनले भने, ‘प्रचण्डले जनचाहना अनुसार प्रभावकारी काम गर्न सक्नुभएको छैन, त्यसलाई मैले सक्नुभएको छ भन्नुपर्ने कुनै कारण छैन । आम जनतामा रहेको घोर निराशालाई आशामा रुपान्तरित गर्नु हाम्रो जिम्मेवारी हो । गजबै काम गर्ने परिस्थिति नभए पनि सत्तामा पुगेको आनन्दमा मात्र बस्ने छुट छैन ।’

भ्रष्टाचारका सबै फाइल खोल्दै जाने, फैलाउने, छरपस्ट बनाउने तर कुनै पनि टुंगोमा नपुर् याउने परिस्थिति देखिन थालेको उनको विश्लेषण छ । रिजालले भने, ‘भ्रष्टाचारको फाइल खोल्दा नेपाली कांग्रेसका नेतामाथि आशंका हुनासाथ निर्ममतापूर्वक प्रस्तुत हुने तर माओवादी नेताको संलग्नता देखिँदा पनि जोगाउने कुराले हाम्रो पार्टीपंक्तिमा व्यापक असन्तुष्टि छ । भ्रष्टाचारको छानबिनमा हाम्रो निसन्देह सहयोग रहन्छ तर त्यसमा निष्पक्षताको ग्यारेन्टी हुनुपर्छ । कांग्रेसप्रति पक्षपात व्यवहार गर्ने हो भने सरकारलाई अप्ठ्यारो पर्नसक्छ ।’

अहिले नेपाली कांग्रेस सरकार परिवर्तन गर्न नलागेको पनि डा. रिजालले स्पष्ट पारे । उनले भने, ‘सरकार परिवर्तन गर्नुपर् यो, कांग्रेसले कहीं पनि भनेको छैन । पूर्वसहमतिमा कांग्रेस इमानदार छ । कांग्रेसले आजसम्म कसैलाई धोका दिएको छैन । तर आम निर्वाचनमा जनतासामु गरेका प्रतिबद्धता पूरा गर्नुपर्छ ।’

नेता डा. शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भन्नुभएको छ नि भन्ने प्रश्नमा डा. रिजालले भने, ‘गठबन्धनको सबभन्दा ठूलो दल नेपाली कांग्रेस हो । उसको नेतृत्वमा सरकार बन्नुपर्छ भन्नु अस्वाभाविक होइन । शेखरजी सभापतिमा लडेको नेता हो । त्यसैले पार्टी सभापतिसँग उहाँको सबै कुरा मिल्छ भन्ने होइन । वैकल्पिक विचार नै पार्टीको जीवन हो । यो असन्तुष्टिलाई प्रधानमन्त्री र माओवादीले ग्रहण गर्नुपर्छ ।’

    सम्बन्धित समाचार...