२१ बैशाख २०८१, शुक्रबार

युरोकप छनोटमा नेदरल्यान्ड्सको पुनरागमन जित

ireland vs netherlands

युरोकप छनोटमा नेदरल्यान्ड्सले आयरल्यान्डलाई २–१ गोलअन्तरले पराजित गरेको छ। आइतबार राति आयरल्यान्डको घरेलु मैदानमा एक गोलले पछि परेको अवस्थाबाट नेदरल्यान्ड्सले पुनरागमन जित दर्ता गरेको हो।

नेदरल्यान्ड्सका लागि कोडी हाक्पो र वाउट वेहोस्टले गोल गरेका थिए। खेलको चौथो मिनेटमै पेनाल्टीको अवसरमा आडम इडाले गोल गरेपछि आयरल्यान्डले अग्रता बनाएको थियो। तर १९ औं मिनेटमा पेनाल्टीबाटै हाक्पोले गोल गरे।

पहिलो हाफमा बराबरी भएको खेलको निर्णायक गोल भने ५६ औं मिनेटमा वेहोस्टले गरेका थिए। यो जितसँगै चार खेलबाट ९ अंक बनाएको नेदरल्यान्ड्स छनोटको समूह ‘बी’ को दोस्रो स्थानमा छ। पराजित आयरल्यान्ड चौथो स्थानमा छ । शीर्षस्थानमा रहेको फ्रान्सले अर्को महिना नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ।

समूह ‘बी’ अन्तर्गत नै गएरातिको अर्को खेलमा ग्रिसले जिब्राल्टरलाई ५–० गोलअन्तरले हराएको छ। त्यसैगरी पोल्यान्डले अल्वानियासँग २–० को हार बेहोरेको छ।

    सम्बन्धित समाचार...