२६ बैशाख २०८१, बुधबार

विमान दुर्घटनामा परी ‘रुसका विद्रोही’ वाग्नर प्रमुखको मृत्यु

prigozhin plane crash

रुसमा एक विमान दुर्घटनामा परी रुसी निजी सैन्य समूह ‘वाग्नर ग्रुप’ का प्रमुख येभ्गेनी प्रिगोजिनसहित १० जनाको मृत्यु भएको छ ।

गत जुनमा भएको छोटो र असफल सैन्य विद्रोहका नेता प्रिगोजिनसहित १० जनाको मृत्यु भएको रुसी नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । बुधबार एउटा रहस्यमय विमान दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

विमानमा सवार १० व्यक्तिहरुको सूचीमा प्रिगोजिनका साथै वाग्नर ग्रुप सह-संस्थापक रहेका दमित्री उत्किनको नाम पनि रहेको प्राधिकरणले जनाएको छ । मस्कोबाट सेन्ट पिटर्सबर्गतर्फ उडेको उक्त निजी विमान कुजेन्किनो गाउँ नजिकै दुर्घटना भएको रुसको आपतकालीन मन्त्रालयले जनाएको छ । दुर्घटनास्थलमा १० वटा शव फेला परेको त्यहांको सरकारी समाचारमाध्यमले जनाएको छ । विमानमा चालक दलका तीन र अन्य सात जना गरी १० जना रहेका जनाइएको छ ।

गत जुन २३ मा प्रिगोजिनले रक्षा मन्त्रालयको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सैन्य विद्रोहको घोषणा गरेका थिए । यद्यपि त्यसको २४ घण्टाभित्रै उनले विद्रोह फिर्ता लिएको घोषणासमेत गरेका थिए । प्रिगोजिनको उक्त विद्रोहलाई राष्ट्रपति भ्लादिमिर पुटिनका लागि उनी सत्तामा आए यताकै सबैभन्दा ठूलो चुनौतीका रुपमा हेरिएको थियो ।

बेलारुसका राष्ट्रपति एलेक्जेण्डर लुकासेन्कोको पहलमा प्रिगोजिनले उक्त विद्रोह फिर्ता लिए पनि उनले आगामी दिनमा कुनै यस्तै अप्रत्याशित नियति भोग्नु पर्ने आशंका त्यति बेलै गरिएको थियो । प्रिगोजिन अन्तिम पटक करिब एक साताअघि एउटा भिडियोमा देखा परेका थिए जुन अफ्रिकाको कुनै अज्ञात स्थानमा रेकर्ड गरिएको बताइएको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडनले प्रिगोजिनको मृत्युबाट आफू आश्चर्यचकित नभएको प्रतिक्रिया दिएका छन् ।

    सम्बन्धित समाचार...