१७ बैशाख २०८१, सोमबार

इन्टर मायामी यूएस ओपन कपको फाइनलमा प्रवेश

inter miami

निकै प्रतिस्पर्धात्मक खेलमा सिन्सिनाटीलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै स्टार फरवार्ड लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मायामी यूएस ओपन कपको फाइनलमा प्रवेश गरेको छ । निर्धारित र अतिरिक्त समयमा दुवै टोलीले ३–३ गोलको बराबरी खेलेपछि खेलको नजिता टाइब्रेकरबाट निकालिएको हो ।

खेलको १८ औं मिनेटमा सिन्सिनाटीका लुसियानो अकोस्टाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । दोस्रो हाफको ५३ औं मिनेटमा ब्रान्डन भाज्केजले गोल गर्दै सिन्सिनाटीको अग्रता दोब्बर पारे । ६८ औं मिनेटमा मायामीका लिओनार्डो काम्पानाले गोल गर्दै खेललाई २–१ को अवस्थामा पुर्‍याए । उनले मेस्सीको फ्रि-किकमा हेडरमार्फत गोल गरेका थिए । इन्ज्यूरी समयको अन्तिम मिनेटमा काम्पानाले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोरलाइन २–२ गोलको बराबरी बनाएपछि खेल अतिरिक्त समयमा पुग्यो ।

काम्पानालेले यस पटक पनि मेस्सीकै पासमा हेडरमार्फत गोल गरे । अतिरिक्त समयको पहिलो हाफमा क्रेमास्कीको पासमा वैकल्पिक खेलाडी जोसेफ मार्टिनेजले गोल गर्दै मायामीलाई ३–२ को अग्रता दिलाए । तर अतिरिक्त समयको दोस्रो हाफमा सिन्सिनाटीका युया कुबोले गोल गर्दै खेल ३–३ को स्थितिमा ल्याए । त्यसपछि खेल टाइब्रेकरमा धकेलियो ।

टाइब्रेकरमा दुवै टोलीले सुरुवाती ४–४ प्रहार गोलमा परिणत गरे तर सिन्सिनाटीका हागलन्डको पाँचौँ प्रहारलाई मायामीका गोलकिपर ड्रेक क्यालेन्डरले बचाए । त्यसपछि क्रेमास्कीको सुटले जाली चुमेपछि मायामी फाइनलमा स्थान सुरक्षित गर्न सफल भयो ।

यसैसाता लिग्स कप जितेको मायामीका लागि आठौँ खेल खेलेका मेस्सी पहिलो पटक गोल गर्न असफल रहे । तर उनले मायामीलाई फाइनल पुर्‍याउन दुईवटा महत्वपूर्ण असिस्ट गरे । मेस्सीले मायामीका लागि १० गोल गरिसकेका छन् ।

अमेरिकाका ९९ क्लब सहभागी भएको प्रतियोगितामाको उपाधिका लागि मायामीले हुस्टन डाइनामो र रियल साल्ट लेकबीचको विजेतासँग खेल्ने छ । फाइनल खेल सेप्टेम्बर २७ मा हुनेछ ।

    सम्बन्धित समाचार...