२२ बैशाख २०८१, शनिबार

सुन प्रकरणमा मुछिएपछि कृष्णबहादुर महरालाई बयान लिने सीआईबीको तयारी

mahara

अन्ततः नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई ९ किलो सुनकाण्डमा बयान लिन केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सीआईबी) तयार देखिएको छ । स्रोतका अनुसार केही दिनभित्रै महरालाई बयान लिने सीआईबीको तयारी छ ।

विमानस्थलबाट चिनियाँ नागरिकले इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर ल्याएको ९ किलो सुन छुटाउन महराका बाबु-छोराले त्रिभुवन विमानस्थल भन्सारका कर्मचारीलाई दबाब दिएको र चिनियाँ तस्करसँगको कल डिटेल फेला परेको भन्दै सीआईबीले सरकारी वकिलको कार्यालयमा पूरक प्रतिवेदन बुझाएको थियो । तर, सरकारी वकिल कार्यालयले महराका बाबुछोरालाई मुद्दा नचलाई अरुलाई मात्र मुद्दा दायर गरेको थियो ।

सुन प्रकरणमा मुछिएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारी बैठकमा महरालाई आफ्नोबारे आफैं स्पष्टीकरण दिन भनेका थिए । प्रधानमन्त्रीले महरालाई भनेका थिए, ‘सरकारले तपाईंको बचाउ गर्दैन, वर्षमानजीले जस्तै तपाईंले पनि आफ्नोबारे आफैं स्पष्टीकरण दिनोस् ।’

तर, महराले विज्ञप्ति जारी गरेर स्पष्टीकरण दिए पनि सीआईबीको प्रतिवेदनमै नाम उल्लेख भएपछि महरा थप दबाबमा परे ।

यसपछि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबीका प्रमुख किरण वज्राचार्यलाई फोन गरेर सोधे- सरकारी वकिललाई बुझाएको प्रतिवेदनमा महराको नाम किन राखियो ? उहाँको सहभागिता थियो भने किन मुद्दा चलाइएन ? नाम समावेश गर्नु गल्ती हो या मुद्दा नचलाउनु गल्ती हो ?’

यही क्रममा महराबारे सार्वजनिक रुपमा आलोचना हुन थालेपछि र संसद्‌मा पनि कुरा उठेपछि फेरि प्रधानमन्त्री र गृहमन्त्री दुवैले सीआईबी प्रमुखलाई सोधे, ‘महराको नाम प्रतिवेदनमा उल्लेख गर्नु गल्ती थियो वा उहाँमाथि मुद्दा नचलाउनुचाहिँ गल्ती भएको हो ? नाम राख्नु गल्ती भएको हो भने सीआईबीले पत्रकार सम्मलेन गरेर स्पष्ट गरोस् । संलग्नता देखिएको हो भने बयान लिएर मुद्दा चलाओस् ।’

प्रहरी प्रमुखहरुले यसबारे बुझ्ने प्रधानमन्त्रीलाई जवाफ दिएका थिए । स्रोतका अनुसार सीआईबीका अधिकारीले सुरुमा प्रधानमन्त्री र गृहमन्त्रीलाई महराको नाम समावेश गरिनु गल्ती भएको तर्क गरे । तर, महरामाथि कारबाही हुनैपर्ने जनदबाब बढ्दै गएपछि प्रधानमन्त्री दाहाल आफैंले उनीमाथि कारबाही अघि बढाउन गृहमन्त्री र सीआईबीलाई निर्देशन दिएका छन् । स्रोतले भन्यो, ‘अब सीआईबीले चाँडै महरामाथि कारबाही अघि बढाउँछ ।’

प्रधानमन्त्री कार्यालय स्रोतले सीआईबीमाथि पनि कसैले चलखेल गरेको हुने सक्ने आशंका गरेको छ । स्रोतको भनाइ छ, ‘हामीलाई लाग्छ, कतै सीआईबीभित्रै चलखेल त भइरहेको छैन ?’

बालुवाटार स्रोतका अनुसार सीआईबीका केही अधिकारीले यसबीचमा बालकोट पुगेर एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेको सूचनासमेत सरकारले पाएको छ ।

व्यापारीले सामान रोकियो भनेपछि छुटाउन कुरा गरेको हुँ, सुन भन्ने थाहा भएन : महरा

कृष्णबहादुर महराले चिनियाँ व्यापारीले सामान रोकियो भनेपछि आफूले भन्सारका अधिकारीहरुसँग कुरा गरेको बताएका छन् । 

महराले मंगलबार घोराहीमा पत्रकार सम्मेलन गरी आफूलाई भन्सारमा रोकिएको त्यो सामान सुन भन्ने थाहा नभएको प्रष्टीकरण दिएका हुन्। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रतिवेदनमा भेपमा लुकाएर सुन तस्करीमा संलग्न चिनियाँ व्यापारी लुई र डोओजिङ वाङसँग माओवादी नेता महरा र उनका छोरा राहुलसँग पटक पटक संवाद भएको उल्लेख गरेको छ । 

महराले वाङसँग १०-१२ वर्षदेखि चिनजान र आउजाउ रहेको भन्दै उनलाई फलफूल ब्यापारीका रुपमा चिनेको बताएका छन् । ‘उनी फलफूल ब्यापारी हुन् । म सँग टेलिफोन वार्ता भएको पनि होइन, मसँग भेटेर, उनले हाम्रो फलफूल’ महराले अलि अकमक्किँदै भने उनको एकजना साथीले त्यो सुन। सुनको कुरै गरेनन्, सुनको स पनि उच्चारण गरेनन् । इलेक्ट्रिक चुरोट भेपको सामान आछ भन्सारमा छुटाउन मद्दत गर्नुपर्‍यो भने ।  ‘मैले के भनेँ भने केही इलिगल सामान होला भनेँ । इलिगल होइन, लिगल हो भने के प्रोब्लम हो, त्यसकारण मैले भन्सारका साथीहरुसँग कुरा गरेर लिगल सामान हो भने समस्या के पर्‍यो, कानुन अनुसार काम गर्नुहोला अथवा के गर्नुपर्छ रोक्नुपरे रोक्नु, छोड्नुपरे छोड्नु, लिलाम गर्नुपरे लिलाम गर्नु, जे गर्नुपर्ने कानुन अनुसार गर्नु, यत्ति हो भएको ।’

महराले सुन प्रकरण अनुसन्धानमा आफूले प्रहरीलाई  सहयोग गर्छु भनिरहेको तर अहिलेसम्म नबोलाएको उल्लेख गरेका छन् । ‘मैले त भनेको छु, मेरो वक्तव्यमा पनि, कुनै पनि छानबिनको निमित्त तयार छु भनेकै छु’ उहाँले  भन्नुभयो मलाई बोलाउन म त अनुसन्धानका लागि के गर्न पर्छ तयार छु, खै त बोलाउदैन । अनुसन्धानका निमित्त म भाग्ने कुरै छैन ।’

महराले आफू पार्टी कार्यक्रमका लागि प्रधानमन्त्रीकै आग्रहमा दाङ आएको बताए । ‘म त अहिले नै जान सक्छु’ उनले भने । 

    सम्बन्धित समाचार...