२१ बैशाख २०८१, शुक्रबार

सरकार जोगाउने जुक्तीले कोशी प्रदेशमा दोस्रोपटक मन्त्रिपरिषद विस्तार, ज्येष्ठ सदस्य मण्डल राज्यमन्त्री नियुक्त

gayananda manda

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दोस्रोपटक मन्त्रिपरिषद विस्तार गर्दै प्रदेशसभाका ज्येष्ठ सदस्य ८० वर्षीय गयानन्द मण्डल गनगाईलाई राज्यमन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री थापाले सत्तारुढ गठबन्धनका कांग्रेस सांसद मण्डललाई कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त गरेका हुन् । कृषि राज्यमन्त्री मण्डललाई मुख्यमन्त्री थापाले पद तथा गोपनीयताको शपथ खुवाएका छन् । गनगाई नेपाली कांग्रेसबाट मोरङको क्षेत्र नम्बर पाँच (१) बाट निर्वाचित प्रदेश सांसद हु्न् ।

कोशी प्रदेशमा सरकार जोगाउन आवश्यक बहुमत संख्या पुर्‍याउन चलखेल भइरहेको अवस्थामा प्रदेशसभाका ज्येष्ठ सदस्यलाई मन्त्री बनाइएको हो । बहुमत संख्या (४७) पुर्‍याउन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर मुख्यमन्त्री बनेका थापाले विश्वासको मत लिने समय नजिकिँदै गर्दा अर्को कदम चालेका हुन् ।

सभामुखलाई राजीनामा गराएर गठबन्धनले बहुमत पुर्‍याएपनि प्रमुख प्रतिपक्षी एमालेबाट उपसभामुख बनेकी सिर्जना दनुवारले पनि राजीनामा दिने डरले मुख्यमन्त्री थापाले चलाखी गरेको देखिन्छ । उपसभामुखले राजीनामा गरे प्रदेशसभाका ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नुपर्ने बाध्यता हुन्छ । यदि त्यो भएको अवस्थामा सरकारले विश्वासको मत लिने बेलामा बहुमत नपुग्ने जोखिम छ ।

संविधानले बराबरी मत भएको अवस्थामा मात्रै अध्यक्षलाई मतदानको अधिकार दिएकाले त्यही संवैधानिक बाध्यता छल्न गठबन्धनले मण्डललाई मन्त्री बनाएको हो । थापा यही साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ ।

सर्वोच्च अदालतको आदेशले साउन १६ गते मुख्यमन्त्री नियुक्त भएपछि थापाले माओवादीका बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना, नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगुलाई भौतिक पूर्वाधार विकास र कांग्रेसका प्रदीपकुमार सुनुवारलाई खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नियुक्त गरेर साउन १७ गते शपथग्रहण गरेका थिए ।

मुख्यमन्त्री थापाले त्यसपछि साउन २६ गते पहिलो पटक मन्त्रिपरिषद् विस्तार गरी जनता समाजवादी पार्टीकी एक्ली प्रदेश सांसद निर्मला लिम्बूलाई स्वास्थ्यमन्त्री नियुक्त गरेका थिए । ९३ सदस्यीय कोशी प्रदेशसभामा तत्कालीन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत संख्या ४७ पुर्‍याएका मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि मण्डललाई राज्यमन्त्री बनाएका हुन् ।

प्रदेश सभाको बैठक भदौ १ गते दिउँसो एक बजेका लागि बोलाइएको छ । उक्त बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने तयारी गरिरहेका छन् । सभामुखको राजीनामापछि प्रदेशसभाको बैठक उपसभामुख सिर्जना दनुवारले सञ्चालन गर्नुपर्ने संवैधानिक बाध्यता छ ।

थापालाई प्रदेशसभाबाट विश्वासको मत लिन उपसभामुख दनुवारले बैठकको अध्यक्षता गर्दा सहज हुन्छ । सरकार निर्माणकै लागि सत्ता गठबन्धनले तत्कालीन सभामुख गौतमलाई पदबाट राजीनामा गराइसकेका कारण एमालेले पनि उपसभामुख दनुवारलाई विश्वासको मत लिने दिन बैठकमा अनुपस्थित गराउनेसम्मको रणनीति बनाइरहेको छ ।

मुख्यमन्त्री थापाले अझै आन्तरिक मामिला तथा कानुन, पर्यटन, वन तथा वातावरण, सामाजिक विकास र उद्योग, कृषि तथा सहकारी मन्त्रालय आफैंसँग राखेका छन् । विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने उनको तयारी छ ।

    सम्बन्धित समाचार...