२६ बैशाख २०८१, बुधबार

अध्यक्ष ओली र नेता रावलबीच सरप्राइज भेटवार्ता

KP Oli Bhim Rawal1692102498

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच लामो समयपछि भेटवार्ता भएको छ ।

मङ्गलबार अपरान्ह पार्टी कार्यालय च्यासलमा लामो समयपछि आफ्नै पार्टी अध्यक्ष ओलीलाई रावलले भेटेका हुन्।

१० औँ महाधिवेशनबाट ओलीसँग टक्कर गरेर बस्नुभएका नेता रावलले मंगलबार पार्टी मुख्यालय च्यासलमा  भेटवार्ता गरेर सरप्राइज दिए। चितवनमा सम्पन्न एमालेको १० औँ महाधिवेशनमा सर्वसम्मत अध्यक्ष बन्न लागेका ओलीविरुद्ध उम्मेदवार दिएर नेता रावलले त्यसयता टक्कर दिँदै आएका थिए ।

आफूसँग टक्कर गरिरहेकै कारण गएको निर्वाचनमा अध्यक्ष ओलीले नेता रावललाई टिकट दिएनन् । रावलले तै पनि पार्टी छाडेका छैनन् । यद्यपि ओलीले उनलाई कुनै जिम्मेवारी नदिएर भूमिकाविहीन बनाइरहेका छन् । पार्टीमा जिम्मेवारी विहीन बनाइए पनि नेता रावल एमालेको हितमै क्रियाशील हुँदै आएका छन् । दुई नेताबीचको छलफललाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

नेता रावलले भेटको बारेमा सञ्चारकर्मीलाई जानकारी दिँदै भने, ‘हाम्रोबीच भेट नभएको धेरै भएको थियो। र आज भलाकुसारी गर्‍यौं। के छ, कस्तो छ, र अहिले देशको स्थिति, पार्टीको अवस्था के छ, कस्तो छ। यसमा हाम्रा सोच दृष्टिकोणहरू के छ। त्यसमा सामान्य कुराकानी भयो। अब फेरि कुराकानी गर्ने भन्ने भयो।’

पार्टीमा तपाईंलाई जिम्मेवारी बारेपनि केही छलफल भयोकी भन्ने प्रश्नको जवाफ दिँदै नेता रावलले भने, ‘धेरै लामो समयपछि भेटघाट भएको हो। अब उहाँ पार्टीको अध्यक्ष, अध्यक्षसँग धेरै देश-विदेशको बारेमा जानकारी हुन्छ। सूचना हुन्छ। अब म पनि अध्ययन गरिरहेको मान्छे। आफ्ना विचारहरू अहिलेको स्थिति के छ, कस्तो छ भन्ने कुराकानी भयो। अब फेरि कुराकानी गरौंला भन्ने भयो। यतिमात्रै भयो।’

    सम्बन्धित समाचार...