१६ बैशाख २०८१, आईतवार

साउदी प्रो लिगमा अल नासरको खराब सुरुवात, अल हिलालले जोड्यो अंक

al nassr

कप्तान क्रिस्टियानो रोनाल्डोको अनुपस्थितमा अरब क्लब च्यम्पियन्स कपको विजेता अल नासरले साउदी प्रो लिगको आफ्नो पहिलो खेलमा हार बेहोरेको छ ।

सोमबार राति भएको खेलमा अल इतिफकले अल नासरलाई २–१ ले पराजित गरेको हो । सुरुवाती समयमा पछि परेको अवस्थाबाट पुनरागमन गर्दै अल इतिफकले जित हात पार्‍यो ।

खेल सुरु भएको चार मिनेटमै सादियो मानेले गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए । नासरले पहिलो हाफमा १–० को अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन ।

दोस्रो हाफको ४७ औँ मिनेटमा रोबिन क्वेजनले अल इतिफकका लागि बराबरी गोल फर्काए । ५३ औँ मिनेटमा गोलरक्षक नवाफ अल अकिदीको गल्तीमा मौसा डेम्बेलेले गोल गरे । नवाफले क्रसमा आएको बल फुस्काएपछि डेम्बेलेले गोल गरेका थिए । त्यस पछि दुवै टिमबाट थप गोल हुन नसकेपछि इतिफक २–१ ले विजयी भयो ।

जितसँगै इतिफकले पहिलो खेलबाट ३ अंक जोडेको छ । साउदी प्रो लिगमै गएराति सम्पन्न अन्य खेलमा अल इतिहादले अल राएदलाई ३–० ले पराजित गर्दा अल हिलालले अभामाथि ३–१ को जित निकाल्यो ।

ब्राजेलियन स्टार एवं बार्सिलोनाका पूर्व स्ट्राइकर माल्कोमले ह्याट्रिक गरेपछि अल हिलालले पहिलो जित हात पारेको हो ।

माल्कोमले खेलको ३१ औँ मिनेटमा नासर अल दावसरीको पासमा गोल गरे । ३३ औँ मिनेटमा अभाका साद गुइरले गोल गर्दै खेलाई बराबरीमा फर्काए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिँदा माल्कोमले ५५औँ मिनेटमा दोस्रो गोल गरे । उनले मोहम्मद कानोको पास सदुपयोग गर्दै ७७ औँ मिनेटमा ह्याट्रिक पूरा गरे । घाइते भएपछि माल्कोमले ८१ औँ मिनेटमा मैदान छाडेका थिए । जितसँगै अल हिलालले पहिलो खेलमा ३ अंक जोडेको छ ।

    सम्बन्धित समाचार...