१ जेष्ठ २०८१, मंगलवार

सीके राउत नेतृत्वको जनमतलाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद् हेरफेरको तयारी

prachanda pm
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहालले जनमत पार्टीलाई सरकारमा सहभागी गराउँदै आज मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् ।

सीके राउत नेतृत्वको जनमत पार्टीबाट अनितादेवी साहलाई प्रधानमन्त्री दाहालले मन्त्री नियुक्त गर्न लागेका हुन् ।

यसअघि असार २६ गते नै जनमत पार्टीले अनितादेवीको नाम सिफारिस गरेको थियो । तर त्यसको भोलिपल्टै प्रधानमन्त्री पत्नी सीताको निधन भएपछि उनको नियुक्त रोकिएको थियो ।

दाहाल नेतृत्वको मन्त्रिपरिषद् अहिले २५ सदस्यीय भएकाले जनमत पार्टीलाई सरकारमा सहभागी गराउँदा वर्तमान एक मन्त्रीलाई हटाउनु पर्नेछ । संविधानमा मन्त्रिपरिषद गठन सम्बन्धमा प्रधानमन्त्रीसहित बढीमा २५ जना मन्त्री रहेको मन्त्रिपरिषद् गठन गर्ने उल्लेख भएकाले नयाँ एक मन्त्री थप्दा कुनै एक मन्त्रीलाई हटाउनु पर्ने बाध्यता छ ।

प्रधानमन्त्री दाहालले आफ्नै दल नेकपा माओवादी केन्द्रका एक मन्त्रीलाई हटाएर अनितादेवीलाई मन्त्री बनाउने तयारी गरेका छन् । हाल माओवादीबाट सरकारमा ६ मन्त्री र एक राज्यमन्त्री छन् ।

जनमतलाई सरकारमा सहभागी गराउने भएपछि माओवादीबाट मन्त्री बनेका कसलाई हटाउने भन्ने विषयमा प्रधानमन्त्रीले अहिले नै नखुलाएको माओवादी नेताको भनाइ छ । यद्यपि, प्रधानमन्त्री दाहालले संघीय मामिलामन्त्री अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीमध्ये एकलाई हटाउने तयारी गरेको स्रोतले बतायो । यी दुवै मन्त्रीको कार्यशैलीबाट प्रधानमन्त्री सन्तुष्ट छैनन् ।

गत असारमा सत्तारुढ गठबन्धनका दलबीच प्रधानमन्त्रीकै दलको कोटामा जनमत पार्टीलाई सरकारमा सहभागी गराउने सहमति भएको थियो । जनमत पार्टी यसअघि पनि दाहाल नेतृत्वको संघीय सरकारमा सहभागी भएको थियो । तर मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै गत चैत १७ गते सरकारबाट बाहिरिएको थियो ।

जनमत पार्टीबाट खानेपानी मन्त्री भएका अब्दुल खानले आफूहरुले दाबी गरेको मन्त्रालय नपाएको भन्दै राजीनामा दिएका थिए । त्यसबेला जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दाबी गरेको थियो ।