२६ बैशाख २०८१, बुधबार

केपी ओलीको दाबी- हामीबाहेक अरुले सरकार चलाउन सक्दैन

kp oli
फाइल फोटो

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सांसदहरु बोल्छन् भनेर सरकार आफैंले संसद् बैठक चल्न नदिएको आरोप लगाएका छन् । च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा बुधबार उनले आफूहरुबाहेक अरुले सरकार चलाउनै नसक्ने दाबीसमेत गरे ।

अध्यक्ष ओलीले सत्ता गठबन्धको कटाक्ष गर्दै भने, ‘हामीबाहेक अब अरुले देश चलाउनै सक्दैन । १० टाउके हुँदा पनि चलाउन सकेनन् नि । त्यत्रो कोभिड हुँदा त हामीले देशलाई तहसनहस हुन दिएनौं ।’

सुन काण्डमा सरकार आफैं मुछिएको आरोप लगाउँदै ओलीले छानबिन समिति नबनाएकामा आपत्ति जनाए । विमानस्थल भन्सारबाट विद्युतीय चुरोटको स्वरुपमा गरिएको भनेको साढे नौ किलोग्राम सुन तस्करीमा सरकार संलग्न रहेको उनको आरोप छ ।

उनले भने, ‘सिगरेटमा ल्याएको साढे नौ किलो सुन जफत गरेर राखिएको थियो । सुन्छु अहिले- त्यो गोदामबाटै हरायो रे ।’

गोदामै विद्युतीय चुरोट सटिएको उनको आरोप छ । उनी भन्छन्, ‘नक्कली बजारको इलेक्ट्रिक चुरोट त्यो ल्याएर त्यस ठाउँमा राखिएको छ । केही पनि भेटिँदैन । किनभने सक्कली चोरी भयो, नक्कली त्यहाँ राखिएको छ ।’

यस्ता सुनकाण्डले वर्तमान नेतृत्वले गरेको सरकार सञ्चालन भरपर्दो नभएको उनको तर्क छ । उनले प्रश्न गरे, ‘तपाईंहरुले भन्सार नियन्त्रण पनि गर्नसक्नु भएन, सुन छेक्न पनि सक्नुभएन । त्यहाँ चोरीपैठारी हुँदा त्यत्रो सुन आउँदा तपाईंहरुले देख्नुभएन । अनि तपाईंहरुबाट के आशा गर्नु ?’

साथै उनको गृहमन्त्री नारायणकाजी श्रेष्ठको पदीय जिम्मेवारीप्रति समेत आपत्ति जनाए । मंगलबारको संसद् बैठकको प्रसंग निकाल्दै उनले भने, ‘हिजो हामीले बोल्न दिनुपर्छ सरकारले बोल्न दिन चाहेन । एकजना गृहमन्त्री मात्रै बोल्ने रे । जो भन्सार नियन्त्रण गर्न योग्य छैन । जो अनेक प्रकारका नचाहिँदा बकवास अरुमाथि लाञ्छित, आरोपित गरेर हिँड्छ । उसले भाषण गर्ने रे ।’

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन नभए संसद् अवरोध गर्ने एमालेको अडानपछि सभामुख देवराज घिमिरेले मंगलबारको संसद् बैठक स्थगित गरेका थिए ।