२२ बैशाख २०८१, शनिबार

अफ्रिकी देश नाइजरमा सैनिक ‘कू’, देशको संविधान र सबै संस्था निलम्बन

nai

पश्चिम अफ्रिकी देश नाइजरमा सैनिकको एक समूहले सत्ता कब्जा गरेको घोषणा गरेको छ ।

राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै उक्त समूहले राष्ट्रपतिलाई अपदस्थ गरिएको, संविधान भंग गरिएको र देशका सबै संस्थाहरु निलम्बित गरिएको घोषणा गरेको छ । देशभर कर्फ्यू लगाइएको छ भने हवाई तथा स्थल सीमा बन्द गरिएको छ ।

सेनाका कर्नल मेजर अमादु अब्द्रामेनले टेलिभिजनमार्फत लिखित वक्तव्य पढ्दै खस्कँदो सुरक्षा अवस्था र कुशासनका कारण वर्तमान सत्तालाई अन्त्य गरिएको घोषणा गरेका हुन् । अब्द्रामेनले कुर्सीमा बसेर सम्बोधन गरेका थिए भने सैन्य पोशाकमा रहेका अन्य नौ जना सैनिकहरु उनको पछाडि उभिइरहेका थिए । आफ्नो सम्बोधनमा बाजुमले कुनै प्रकारको हस्तक्षेप नगर्न सबै अन्तर्राष्ट्रिय साझेदारलाई आग्रह गरेका थिए ।

सेनाले बुधबार बिहानै राष्ट्रपति मोहमेद बजुमलाई उनको निवासभित्रै आफ्नो नियन्त्रणमा लिएको थियो ।

यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कन र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अपदस्थ राष्ट्रपति बजुमसँग टेलिफोन वार्ता गरेको जनाइएको छ । अमेरिकी विदेशमन्त्री ब्लिन्कनले बजुमलाई उनीप्रति वासिङ्गटनको अटल समर्थन रहेको सन्देश दिएका थिए भने महासचिव गुटेरेसले पनि उनीप्रति राष्ट्रसंघको पूर्ण समर्थन रहेको बताएका थिए ।

अपदस्थ राष्ट्रपति बजुम इस्लामिक जिहादी विरुद्धको लडाईमा पश्चिमा देशका एक प्रमुख सहयोगीका रुपमा रहँदै आएका थिए । नाइजर सब सहारन क्षेत्रबाट हुने अवैध आप्रवासन विरुद्धको लडाईमा युरोपेली संघको एक मुख्य सहयोगी राष्ट्रसमेत हो ।

पश्चिम तथा मध्य अफ्रिकी क्षेत्रमा सन् २०२० यता भएको यो सातौ कू हो भने सन् १९६० मा फ्रासेन्सी उपनिवेशबाट स्वतन्त्र भएयता भूपरिवेष्ठित देश नाइजरमा भएको यो चौथो सैन्य कू हो । 

    सम्बन्धित समाचार...