२२ बैशाख २०८१, शनिबार

चिनियाँ विदेशमन्त्री छिन काङ पदबाट बर्खास्त

xin kan

चीनले विदेशमन्त्री छिन काङलाई पदबाट बर्खास्त गरेको छ । उनको ठाउँमा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश मामिला प्रमुख तथा पूर्व विदेशमन्त्री वाङ यी पुनः नियुक्त भएका छन् ।

विदेशमन्त्री छिन एक महिनादेखि सार्वजनिक समारोहमा देखिएका थिएनन् भने उनको रहस्यमयी अनुपस्थितिबारे अन्तर्राष्ट्रियस्तरमै विभिन्न शंका उपशंका हुँदै आएका थिए । गत डिसेम्बरमा मात्रै विदेशमन्त्री पदमा नियुक्त छिन सात महिना पनि नबित्दै आश्चर्यजनक रुपमा पदबाट हटाइएका हुन् । उनलाई बर्खास्त गरिनुको कारणबारे केही भनिएको छैन । छिनलाई राष्ट्रपति सी चिन फिङका विश्वासपात्रका रुपमा हेरिने गरिएको थियो ।

चीनको सरकारी समाचारमाध्यम सिन्ह्वाले छिनलाई विदेशमन्त्री पदबाट हटाइएको र संसद्‌ले वाङ यीलाई विदेशमन्त्री नियुक्त गर्ने पक्षमा मतदान गरेको जनाएको हो ।

छिनलाई हटाउनेसम्बन्धी आदेशमा स्वयं राष्ट्रपति सीले हस्ताक्षर गरेको जनाइएको छ । गत जुन २५ मा श्रीलंका, भियतनाम र रुसका कूटनीतिक अधिकारीहरुसँग भेटवार्ता गरेयता छिन सार्वजनिक रुपमा देखापरेका थिएनन् ।

बेइजिङमा भएका महत्त्वपूर्ण कूटनीतिक भेटघाटका साथै इन्डोनेसियामा भएको आसियन विदेशमन्त्रीहरुको बैठकमा समेत उनी अनुपस्थित भएपछि विभिन्न आकलन गरिएका थिए । चिनियाँ विदेश मन्त्रालयले अस्वस्थ भएका कारण उनी आसियान विदेशमन्त्री बैठकमा अनुपस्थित रहेको जनाएको थियो ।

निवर्तमान विदेशमन्त्री छिनको हङकङस्थित एकजना महिला पत्रकारसँग विवाहइतर प्रेमसम्बन्ध रहेको र ती महिलाबाट एउटा सन्तानसमेत रहेको चर्चा चिनियाँ सामाजिक सञ्जाल विबोका साथसाथै ट्विटरमा पनि चलेको थियो । त्यसपछि उनको अनुपस्थिति थप चासोको विषय बन्न पुगेको थियो । केही पश्चिमा समाचारमाध्यमले सत्तारुढ कम्युनिस्ट पार्टीको केन्द्रीय अनुशासन समितिले छिनसँग उक्त विषयमा प्रस्टीकरण मागेको समाचारसमेत प्रकाशित गरेका थिए । ५७ वर्षीय छिन करिअर डिप्लोम्याट हुन् भने गत डिसेम्बरमा विदेशमन्त्री नियुक्त हुनुअघि उनी अमेरिकाका लागि चीनका राजदूतसमेत थिए ।

    सम्बन्धित समाचार...