२७ बैशाख २०८१, बिहीबार

गृहमन्त्री र पूर्वप्रधानमन्त्री विमानस्थलमा भएका संयन्त्रलाई देखाएर राजनीतिक दाउपेचमा

Kp oli narayankaji
फाइल फोटो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन भित्रिएको घटनाको अनुसन्धान चलिरहेको छ । तर मुलुककै पुरानो अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामाथि भने यो प्रकरणले गम्भीर प्रश्न उठाइदिएको छ ।

विमानस्थलभित्र एक सयभन्दा बढी संयन्त्र छन् । देशका गृहमन्त्री र पूर्वप्रधानमन्त्री त्यही विमानस्थलमा भएका संयन्त्रलाई देखाएर राजनीतिक दाउपेचमा लागेका छन् ।

मुलुकको अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली सुधार गर्ने निकायमा बसिसकेकाहरु कर्मचारीलाई देखाएर आफ्नो जिम्मेवारीबाट पन्छिन खोजिरहेको देखिन्छ ।

‘अराइभलमा तपाईलाई थाहा छैन ? सेक्युरिटी चेकजाँच हुँदैन । स्क्रिनिङ गर्ने कुरामा भन्सार अधिकारीहरुले मात्रै गर्छन् ।’ यो भनाइ हो, शुक्रबार विमानस्थल भन्सारको निरीक्षण गर्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पुगेका गृहमन्त्री नारायणकाजी श्रेष्ठको ।

मन्त्री श्रेष्ठको यस्तो भनाइले के स्पष्ट गर्दछ भने विमानस्थल भन्सारको चेकजाँचमा सरकारी सुरक्षा निकायको कुनै उपस्थिति छैन । तर, यसलाई मन्त्री श्रेष्ठ ‘ल्याप्सेज’ (कमी कमजोरी) का रुपमा खुलेआम स्वीकार्छन् ।

शुक्रबार विमानस्थलको अवलोकनपछि उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठले भनेका थिए, ‘हामीले पहिलादेखि भनेको एउटा ल्याप्सेज चाहिँ के भने अराइभलको लगेजमा पनि, कार्गोमा पनि कहीँ पनि प्रहरीको उपस्थिति रहँदैन अहिलेको प्रक्रियामा ।’

विमानस्थल भन्सार कार्यालयजस्तो संवेदनशील ठाउँमा प्रहरीको उपस्थिति नै नहुनु र गृहमन्त्री नै त्यो ठाउँको सुरक्षाको जिम्मेवारी आफू मातहत नरहेको भन्दै पन्छिनुले गम्भीर प्रश्न उब्जन्छ– उसोभए एक क्विन्टल सुन तस्करीमा कसलाई जवाफदेही बनाउने त ? के यो घटनामा गृहमन्त्रालय मूकदर्शक बनेर बस्न मिल्छ ?

शुक्रबार गृहमन्त्री श्रेष्ठले यो पनि खुलासा गरे, ‘अहिले पनि हामीले भन्सारका साथीहरुलाई सल्लाह गर्यौं, तपाईहरुलाई प्रहरी चाहिँदैन ? प्रहरी भयो भने राम्रै हुन्छ भन्नुभएको छ ।’

श्रेष्ठले थपे, ‘तपाईहरुले माग पहिला त गर्नुभएको छैन, बरु हामीले नै मन्त्रिपरिषदको बैठकमा यसभन्दा अगाडि कुरा उठाएका थियौं कि हामीले प्रहरीलाई नै त्यहाँ सामेल गर्नुपर्छ । जब लगेज आउँछ र स्क्रिनिङको प्रक्रिया शुरुवात हुन्छ, जब कार्गो आउँछ र स्क्रिनिङको प्रक्रिया सुरुवात हुन्छ, भन्सारका कर्मचारीको अतिरिक्त प्रहरी पनि भयो भने सहयोगी भूमिका हुन्छ भनेर हामीले भनेका छौं ।’

एकसय किलो सुन बाहिरिएको घटनापछि गृहमन्त्री भन्छन्, ‘अहिले भन्सारका साथीहरुले पनि र अरु समन्वयमा रहेका साथीहरुले पनि त्यो (प्रहरी राख्ने कुरा) सही नै भन्नुभएको छ, यसबारेमा हामी आवश्यक निर्णय गर्नेछौं ।’

गृहमन्त्रीले भन्सार कार्यालयमा प्रहरी राख्छौं भनेको एक साता बित्न लाग्यो, तर अहिलेसम्म त्यहाँ प्रहरी तैनाथ गरेको खबर आएको छैन । बरु पटक–पटक शंकास्पद वस्तु भित्रिएको खबर छ ।

विमानस्थल भन्सारमा प्रहरी तैनाथ गर्न नसकेको सरकारका गृहमन्त्री श्रेष्ठ ‘टार’ र ‘कोट’ को कुरा गरेर विमानस्थल सुरक्षाको प्रश्नलाई राजनीतिकरण गर्न भने अग्रसर देखिए । शुक्रबार उनले विमानस्थलबाटै भने, ‘यो भ्रष्टाचारका कुरा वा अपराधका कुनै घटनाका सन्दर्भमा अनुसन्धान गर्दाखेरि कुनै कोट, कुनै टार, (बालुवाटार, खमलटार वा बालकोटप्रति संकेत गर्दै) कुनै पार्टी मलाई मतलब छैन ।’

घटनामा प्रशरी प्रशासनले कुनै कदम नचाले पनि मन्त्री श्रेष्ठले भने, ‘यो छानविन र अनुसन्धानको प्रक्रियालाई यसको जरैसम्म पुग्ने गरी अगाडि बढाउनुपर्छ । जोसुकै भए पनि यसको नेक्सस र रुटमा पुग्ने गरी अनुसन्धानलाई अगाडि बढाएर कारवाहीको प्रक्रियामा जानुपर्छ ।’

तर, यति भन्दाभन्दै पनि गृह प्रशासनले एक क्विन्टल सुन काण्डको अनुसन्धानमा हात हालेको छैन । राजस्व अनुसन्धान विभागका कर्मचारीले पत्तो नलगाएको भए प्रहरी प्रशासन अहिलेसम्म भन्सारको जिम्मा आफ्नो हैन भन्दै तस्करीप्रति मूकदर्शक रहिरहने निश्चित थियो ।

गृहमन्त्री श्रेष्ठले विमानस्थलको अवलोकन गर्ने क्रममा यो पनि भने, ‘मैले सम्बन्धित अधिकारीहरुलाई कडा निर्देशन दिएको छु । अहिले छानविन समितिलाई नै राज्यका अरु निकायहरुले सघाउने काम हुनेछ ।’

तर, प्रहरी प्रशासनको भूमिका चाहिँ के हो ? गृहमन्त्री श्रेष्ठले भनेका छन्, ‘आवश्यकता पर्यो भने हाम्रो सीआइबी वा अपराध अनुसन्धान शाखाजस्ता निकायहरुले यसको अनुसन्धान गर्न पनि सक्नेछन् । तर अहिले राजस्व अनुसन्धानको नेतृत्वमा जुन समिति बनेको छ, त्यो समितिले नै अनुसन्धानको प्रक्रियालाई अगाडि बढाउँछ ।’

तथापि अहिले छानविन समिति बनेको र त्यो समितिले नै छानविन अगाडि बढाउने गृहमन्त्रीको जवाफ छ ।

गृहमन्त्रीमाथि पूर्वप्रधानमन्त्रीको प्रश्न

एमाले अध्यक्ष केपी शर्मा ओली पूर्वप्रधानमन्त्री एवं पूर्वगृहमन्त्री समेत हुन् । उनको विचारमा गृहमन्त्रीले विमानस्थलको सुरक्षा गर्ने जिम्मेवारीबाट पन्छन मिल्दैन ।

कम्बोडियाको भ्रमणबाट फर्कने क्रममा सोमबार राति ओलीले विमानस्थलबाटै गृहमन्त्री श्रेष्ठमाथि आक्रोश पोखे, ‘नारायणकाजी श्रेष्ठले यहाँ सेक्युरिटीको बन्दोबस्त गरेको छ कि छैन ? एयरपोर्टमा सेक्युरिटी गर्ने काम उहाँको हो कि हैन ? यहाँको आउने–जाने चिजहरुको निरीक्षण गर्ने काम उहाँको हो कि हैन ?’

विपक्षी दलका नेता ओलीले सरकारमाथि प्रश्न तेस्र्याउँदै भने, ‘यसमा कारवाही के हुन्छ, हामी हेरिरहेका छौं । कसमाथि कारवाही हुन्छ ? को जवाफदेही छ ? बोक्न त प्लेनले बोक्यो होला, गाडीले बोक्यो होला । भरियाले बोक्यो होला । बोकाउने को हो ? प्लेनलाई बोकायो कल्ले ? गाडीलाई बोकायो कल्ले ? भरियालाई बोकायो कल्ले ? प्रश्न यो हो । त्यसकारण यो ढाकछोप हुन सक्दैन ।’

विमानस्थल भन्सारको जिम्मा कर्मचारीको मात्रै रहेको बताउनु गृहमन्त्रीको गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति भएको ओलीको तर्क छ । उनले गृहमन्त्री श्रेष्ठमाथि आक्रोश पोख्दै भने, ‘यो अत्यन्तै अनैतिक क्रियाकलाप हो । गृहमन्त्रीको क्रियाकलाप गैरजिम्मेवार । यस्ता खालका गैरजिम्मेवार कुरा गरेर हिँड्ने गृहमन्त्रीले ?’

आक्रोश पोख्ने क्रममा ओली गृहमन्त्रीमाथि थप खनिए, ‘गृहमन्त्रीले बताउनुपर्यो, वहाँको संलग्नता छ, छैन यसमा ? सानोतिनो संलग्नताबाट त यो काम भएको छैन होला । वहाँको चाहिँ संलग्नता छ कि छैन ? छैन भने कसको संलग्नता छ ? को छ यसमा ? यत्तिकै कोटमा गालामा काँक्राको बियाँ टाँस्ने होइन । म उहाँलाई सचेत गराउन चाहन्छु, गृहमन्त्रीको हैसियतले उहाँले बोल्दाखेरि तरिका पुर्याएर बोल्नुपर्छ । बतमिज हुनु एउटा कुरा हो । तर, यो त गैरजिम्मेवारीको हद भयो । जथाभावी बोल्ने गृहमन्त्री भएर ? जथाभावी बोल्न गृहमन्त्रीलाई छुट छ ?’

ओलीले थपे, ‘अर्काले कसैले गृहमन्त्रीको जवाफदेहीको कुरा उठायो भने मुद्दा हाल्न जाने ? गृहमन्त्रीमाथि मुद्दा हाल्ने कि नहाल्ने ? गृहमन्त्रीले कोट र टारका सम्बन्धमा चर्चा गरेको अर्थ के हो ? त्यसको अर्थ के हो ?’

गृहमन्त्रीले ‘कोट’को प्रशंग उप्काएर बोलकोटलाई जोड्न खोजेकोमा प्रतिवाद गर्दै ओलीले पनि श्रेष्ठनिवास हात्तीवनतिर लक्षित गर्दै भने, ‘अबको समयमा कुनै वन होस् कि वनका छेउछाऊ होस् कि कहीँ होस् , कसैले पनि यस्तो काम गरेको छ भने अब छोडिनेवाला छैन । यो सुनकाण्डको सिलसिला अन्तिमसम्म नपुर्याइकन हामी पनि छोड्दैनौं । गृहमन्त्रीलाई थाहा होस् । तपाईहरुले यो पुर्याइदिनोस् गृहमन्त्रीका कानमा ।’

एमाले अध्यक्ष ओलीले मुसाले लुकाएको धान निकालेजसरी सुन निकालिछाड्ने दाबी गरे । उनले भने, ‘म त सानो हुँदा मुसाले धानका बाला लुकाउँथ्यो, त्यो खनेर निकाल्थें । पहिले पनि सुनकाण्ड तस्करी हुने गरेको थियो, खनेर निकालेको हो हामीले । फेरि पनि यस्ता कुराहरुलाई हामी खनेर ननिकालेसम्म छोड्दैनौं ।’

विमानस्थल भन्सारको जवाफदेही को ?

विमानस्थलमा सेना, प्रहरी, भन्सारका कर्मचारी र निजामति प्रशासनको संलग्नता रहने भएकाले रक्षा, गृह अर्थ र सामान्य प्रशासन मन्त्रालय पनि स्वतः जोडिन्छन् । तर, तस्करी नियन्त्रणको जिम्मा भन्सारका कर्मचारीको मात्रै रहेको भन्दै गृहमन्त्रालयले दायित्वबाट उम्कन खोजेको विपक्षी नेताको आरोप देखिन्छ । आखिर विमानस्थलको सुरक्षाको जिम्मेवारी कसको हो त ? यो गम्भीर बहसको विषय बनेको छ ।

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन भन्छन्,‘ल्याप्सेज भयो तर कहाँबाट भयो ? यसको पत्ता लागिसकेपछि न सुधार गर्न सकिन्छ ।

अर्थमन्त्रालयका प्रवक्ता धनिराम शर्मा भन्छन्, ‘कोअर्डिनेशसन गर्ने भन्सार विभाग र बाहिरबाट प्रहरीले हेरिराखेको हुन्छ । यो सबै प्रणालीका हिसाबले सञ्चालन गर्नुपर्ने हुन्छ । त्यसो भएको हुनाले अहिले यो जुन एक किसिमको ल्याप्सेज जस्तो देखिइराखेको छ, यो के कारणले भयो, हाम्रा कर्मचारीले त्यसलाई किन चिन्न सकेनन्, यसलाई गम्भीरतापूर्वक लिएर सुधार गर्नुपर्ने हुन्छ ।

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हेमन्त मल्ल ठकुरी भन्छन्, ‘विमानस्थल भनेको संवेदनशील ठाउँ हो, ‘यहाँको सुरक्षालाई खोलाँची रुपमा लिन हुँदैन ।’