७ जेष्ठ २०८१, सोमबार

शेखर कोइरालाको चियापानमा गगन थापा गएनन्

shekhar koirala gagan thapa
फाइल फोटो

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले आयोजना गरेको चियापानमा महामन्त्री गगन थापा अनुपस्थित् भएका छन् । कोइराला र थापाबीच सम्बन्धमा चिसोपना आएको चर्चाबीच थापा नै चियापानमा नआएपछि गाईँगुईँ सुरु भएको छ । तर, शेखरले भने आफूले महामन्त्री थापासँग नै तय गरेको आजको चियापान राखेको स्पष्ट पारेका छन् ।

अनुपम फुडल्याण्डमा आयोजित ‘बीपी स्मृति सप्ताह कार्यक्रम’ मा थापा देखिएनन् । नेताहरु गुरुराज घिमिरे, धनराज गुरुङ, चन्द्र भण्डारीलगायत बोलेपछि अन्तिममा प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका शेखरले भने आफूसँग रिसाएर गगन कार्यक्रममा नआएको भन्ने नभएको स्पष्ट पारे ।

उनले थपे–‘गगनजी किन आउनु भएन भन्ने उहाँहरुको मनमा कौतुहल्ता होला । रिसाउनु भएको होकि के हो ? आजको कार्यक्रमको मिति गगनजी र म बसेरै छलफल गरेको हो ।’ गगनलाई कार्यक्रममा नदेखेपछि कोइरालाले फोन गरेको तर उनको फोन अफ रहेको खुलाए ।

पछिल्लो समय शेखरले सभापति शेरबहादुर देउवालाई साथ दिएका छन् । शेखरको पछिल्लो गतिविधिबाट गगन रिसाएको बुझिएको छ । यद्धपी आज विहान पूर्व महामन्त्री डा. शशांक कोइरालाले केन्द्रीय सदस्यहरुको लागि आयोजना गरेको चियापानमा भने महामन्त्री थापा पुगेका थिए । लैनचौर ब्याङ्क्वेटमा भएको कार्यक्रममा थापा निकै बेर बसेका थिए ।