२५ बैशाख २०८१, मंगलवार

खोटाङका प्रजिअ भोजराज खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा

bhojraj khatiwada

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

अख्तियारले हाल खोटङका प्रजिअ खतिवडाविरुद्ध छिमेकी जिल्ला ओखलढुंगामा भएको एक अनियमिततामा भ्रष्टाचार मुद्दा चलाएको हो। 

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नं १० मा विद्युत पोल, तार र ट्रान्समिटर खरिद योजनामा मिलोमतो गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनको सम्वन्धमा अनुसन्धान हुँदा सिद्धिचरण नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहेका भोजराज खतिवडा देषी देखिएपछि आज भ्रष्टचारको मुद्दा दर्ता गरेको हो ।

अख्तियारले खतिवडासहित वडा नं १० का तत्कालीन वडा अध्यक्ष दामोदर धमला, तत्कालीन इन्जिनियर अमृत कुमार दाहाल र तत्कालीन खानेपानी तथा सरसफाई प्राविधिक दिल कुमार बुढाथोकीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

आर्थिक वर्ष २०७५/०७६ मा सिद्धिचरण नगरपालिकाको वडा नं. १० मा विद्युतीकरणको कार्यको लागि लागत अनुमान स्वीकृत गरी नगरपालिका र उपभोक्ता समितिको जनसहभागिताबाट व्यहोर्ने गरी केन्द्रीय विद्युतका लागि तार, पोल ट्रान्सफर्मर खरिद एवम् निर्माण आयोजनामा भ्रष्टाचार भएको आयोगको दाबी छ।

उपभोक्ता समितिका अध्यक्ष धमला र सिद्धिचरण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खतिवडाबीच सम्झौता भएकोमा उक्त योजनामा नेपाल विद्युत प्राधिकरण ओखलढुङ्गाबाट निःशुल्क प्राप्त तथा खरिद नै नगरिएको सामग्रीकोसमेत भुक्तानी गरी ४ लाख ७७ हजार ८९९ रुपैयाँ भुक्तानी दिएर भ्रष्टाचार गरिएको अभियोगपत्रमा उल्लेख छ।

वईजल एसीएसआर कन्डक्टर, स्टिल ग्यालभनाईज पोल, स्याकल इन्सुलेटर डि आइरन सेट, पिन इनसुलेटर स्पिन्नडल सामानहरू लिई सोही सामग्रीलाई नमामी सप्लायर्स लहानको भ्याट बिल आयोजना शुरु हुनुअघिको मिति राखेर खरिद गरेको भनी फर्जी बिल पेश गरी भ्रष्टाचार गरेको अभियोग पत्रमा उल्लेख छ।

अख्तियारले खतिवडासहितलाई ४ लाख ७७ हजार ८ सय ९९ रुपैँया बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको सजाय गरी बिगो गर्न माग गरेको छ ।

    सम्बन्धित समाचार...