१ जेष्ठ २०८१, मंगलवार

कांग्रेस केन्द्रीय समिति बैठक: बालकृष्ण खाणको बचाउमा को-को उत्रिए ?

Congress Kendriya samiti

नेपाली कांग्रेसका पदाधिकारी र सरकारका मन्त्रीहरु नै नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका केन्द्रीय सदस्य बालकृष्ण खाणको बचाउमा उत्रिएका छन् । पाँच दिनदेखि जारी केन्द्रीय समिति बैठकमा पेस भएका अन्य एजेन्डालाई छाडेर नेताहरुले सरकारले खाणलाई फसाएको दाबीसमेत गरेका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठकमा पहिलो दिन नै नीति अधिवेशन, विभाग गठन, संसद र सरकारमा पार्टीको भूमिका तथा समय तालिकासहितको वार्षिक कार्ययोजना लगायत १० एजेन्डा पेस भएका थिए । तर बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले निर्धारित एजेन्डाभन्दा गुटगत आधारमा धारणा राखिरहेका छन् ।

आफूलाई सुशासन र लोकतन्त्रको रक्षक भन्ने कांग्रेसकै नेताहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेता बालकृष्ण खाणको बचाउमा खुलेरै लागेका छन् । बैठकमा सहमहामन्त्री महेन्द्र यादवले खाणलाई राज्यले फसाएको आरोप लगाए । त्यस्तै, सहमहामन्त्री महालक्ष्मी उपाध्यायले पनि पार्टी खाणको पक्षमा उभिनुपर्ने बताइन् । पराराष्ट्रमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य एनपी साउदले अदालतको फैसला नआउँदासम्म खाणलाई पार्टीले कारबाही गर्न नहुने जिकिर गरे ।

केन्द्रीय सदस्य शेखर कोइरालाले भने कानुन नै बनाएर दण्डहीनतालाई प्रश्रय दिने काम कांग्रेसबाटै हुन लागेको टिप्पणी गरे । उनले संसदमा विचाराधीन केही नेपाल ऐन संशोधन गर्न बनेको विधयेक २०८० तत्काल फिर्ता लिनुपर्ने बताए । अर्का केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भ्रष्टाचारका विषयमा मौन बसे पार्टीलाई क्षति हुने भन्दै संलग्नलाई कारबाहीसँगै भ्रष्टाचारको विरोधमा अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

विशेषगरी संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले खाणको बचाउ गरिरहेका छन् भने कोइराला पक्षका नेताहरुले खाणलाई निलम्बन गर्नुपर्ने बताइरहेका छन् । त्यस्तै पार्टी रुपान्तरणदेखि भ्रातृ संगठनमा उमेर हद तोक्नुपर्नेसम्मका माग बैठकमा उठेका छन् । केही केन्द्रीय सदस्यहरुले निर्वाचन प्रणाली संशोधन गर्नुपर्नेमा पनि जोड दिएका छन् । बैठक आज दिउँसो ३ बजे पुनः बस्ने छ।