२० बैशाख २०८१, बिहीबार

पूर्वसोभियत युनियनबारे चासो नदेखाउन पोल्यान्डलाई पुटिनको चेतावनी

Vladimir Putin

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटो सदस्य राष्ट्र पोल्यान्डले पूर्वसोभियत युनियनबारे चासो राखेको आरोप लगाएका छन् । पोल्यान्डले बेलारुसमा क्षेत्रीय महत्वकांक्षा राखेको र त्यसअनुसार कुनै गतिविधि भए कडा प्रतिउत्तर दिने चेतावनी दिएका छन् ।

आफ्नो मित्र राष्ट्र बेलारुसविरुद्ध आक्रामक गतिविधि रुसविरुद्धको आक्रमण हुने र त्यसको प्रतिरक्षा गर्ने पुटिनले बताएका हु्न् । पुटिनकाअनुसार पोल्यान्ड र लिथुआनियाको सैनिक इकाईलाई पश्चिमी युक्रेनमा खटाउने तयारी पनि भइरहेको छ । जुन पूर्वी पोल्यान्डको क्षेत्र हो ।

पोल्यान्डका उपमन्त्री स्टानिसल जारिनले पुटिनको उक्त आरोप अस्वीकार गरेका छन् र। भ्रामक विचारको प्रयोग गरी पुटिनले युक्रेनमाथि गरेको आक्रमणलाई ढाकछोप गर्न खोजेको बताएका छन् । पुटिनले पोल्यान्डको पश्चिमी भागहरु पूर्वसोभियत नेता जोसेप स्टालिनले दिएको उपहार भएको पनि तर्क गरेका छन् ।

वाग्नरका लडाकु बेलारुस पुगे पश्चात गत बुधबार पोल्यान्डको राजधानी वारसस्थित सुरक्षा समितिले सैनिक इकाईहरु आफ्नो पूर्वी क्षेत्रमा खटाउने निर्णय गरेको थियो । बुधबार नै एक भिडियोमा वाग्नर प्रमुख येभ्गेनी प्रिगोजिनले आफ्ना लडाकुलाई बेलारुसमा स्वागत गर्दै अब युक्रेनमा भइरहेको युद्धमा सहभागी नहुने र अफ्रिकामा ध्यान केन्द्रित गर्न निर्देशन दिएका थिए ।

बिहीबार मिन्सकले वाग्नर लडाकुले बेलारुस र पोल्यान्डको सिमाना नजिक सैन्य तालिम सुरु गरेको बताएको थियो । जस पश्चात नेटो राष्ट्र पोल्यान्डले आफ्नो पूर्वी सिमानामा सैनिक खटाएको छ । रुसी आक्रमणविरुद्ध लड्न पोल्यान्डले युक्रेनलाई हतियार दिनुका साथै युक्रेनी शरणार्थीलाई पुनर्वास प्रदान गरेको छ । जसलाई रुसी राष्ट्रपति पुटिनले प्रत्यक्ष हस्तक्षेपका रुपमा लिएका छन् ।

    सम्बन्धित समाचार...