१७ बैशाख २०८१, सोमबार

राजधानीका नाइट क्लब र डान्स बार अपराधका अखडा

night club
फाइल फोटो

राजधानीका नाइट क्लब र डान्स बार आपराधिक गतिविधिका अखडा बन्न थालेका छन्। नेपाल प्रहरीले असारमा मात्रै दुईवटा घटनामा संलग्नलाई पक्राउ गरेपछि ती ठाउँहरू आपराधिक गतिविधिको अखडा बन्न थालेको पुष्टि भएको हो। १६ वर्षे किशोरीमाथि बलात्कार र लागुऔषध सेवनकर्ताहरूको जमघट एवं कारोवारमा सक्रियहरू पक्राउ परेपछि राजधानीका डान्स बार र नाइट क्लबलाई प्रहरीले निगरानीमा राखेको छ।

बिहीबार साँझ मात्रै नेपाल प्रहरीले काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब लर्ड अफ ड्रिंक्स (एलओडी) का सञ्चालक राजुसिंह सुवाललाई काठमाडौंको बालुवाटारबाट पक्राउ गर्यो। उनका अर्का साझेदार रुदिलबल्लव श्रेष्ठ भने फरार छन्। उनलाई पनि प्रहरीले खोजी गरिरहेको छ। ललितपुर जिल्ला अदालतले एलओडीका सञ्चालकहरू सुवाल र श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। काठमाडौं प्रहरीले सुवाललाई ललितपुर प्रहरीको जिम्मा लगाएको छ । कम्पनी रजिस्ट्रार कार्यालयमा रहेको कम्पनीको प्रबन्धपत्रमा रुदिलबल्लभ र राजु सिंह मात्र सञ्चालक देखिन्छन्। त्यसैले उनीहरूविरुद्ध पक्राउ पुर्जी लिइएको थियो।

एलओडी छिरेकी १६ वर्षीया बालिका गत जेठ ३१ गते सानेपामा बलात्कृत भएको पाइएपछि प्रहरीले त्यहाँका सञ्चालकलाई पनि कारबाहीको दायरामा ल्याएको हो। ती बालिकालाई बलात्कार गरेको आरोपमा स्थायी घर पोखरा भएका तर ललितपुर बस्दै आएका ५० वर्षीय सुदनबहादुर कोइराला पक्राउ परेका थिए। ललितपुर प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहका अनुसार उदयपुर स्थायी घर भई कोटेश्वर बस्दै आएकी १५ वर्षीया बालिकालाई एलओडी क्लबबाट ललितपुरको बागडोल पुर्याएर बलात्कार गरेका आरोप कोइरालालाई लागेको छ। बागडोलमा कोइरालाको अफिस थियो। सोही कार्यालयमा लगेर उनले बालिकालाई बलात्कार गरेको उजुरी परेपछि उनलाई पक्राउ गरी अनुसन्धान सुरु भएको थियो। ‘खासगरी नाइट क्लबहरूले आफ्नो मापदण्डविपरीत कार्य गरिरहेको देखिन्छ, त्यसका आधारमा उनीहरूलाई कारबाहीको दायरामा ल्याउनु जरुरी छ,’ललितपुर प्रहरी परिसरका प्रमुख शाहले भने।

यो मात्रै होइन, असार १० गते लागुऔषध नियन्त्रण ब्युरोले नेपालमा दुर्लभ मानिएको लागुऔषध एलएसडी (लिसेरजिक एसिड डिथिलामाइड) कारोबार भएको भन्दै सुरुमा तीनजनालाई पक्राउ गरेको थियो। नाइट क्लब र डान्स बारहरूमा विदेशी नागरिकहरू एलएसडीको कारोबारमा राजधानीमै सक्रिय रहेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ। असार १० मा ब्युरोका अधिकारीहरूले एलएसडी लागुऔषधको कारोबारमा संलग्न दुई विदेशीसहितको गिरोहलाई पक्राउ गरेपछि यसको पुष्टि भएको हो। उनीहरूबाट १० हजार १३१ वटा एलएसडी लागुऔषध बरामद भएको र यो नेपालमा अहिलेसम्मकै ठुलो बरामद भएको प्रहरीको दाबी छ। नागरिक दैनिकबाट

    सम्बन्धित समाचार...