२१ बैशाख २०८१, शुक्रबार

अवैध रूपमा युरोप छिर्न चाहने ९५१ आप्रवासीको समुद्री दुर्घटनामा निधन

migrants aprabasi

स्पेन हुँदै युरोप छिर्न चाहने कम्तीमा ९ सय ५१ अवैध आप्रवासीको समुद्री दुर्घटनामा परेर निधन भएको आप्रवासीको संरक्षणका क्षेत्रमा काम गर्ने एउटा अनुगमन समूहले जनाएको छ ।

यस वर्षको पहिलो ६ महिनामा मात्रै यतिका मानिसले ज्यान गुमाएका हुन् । समुद्री मार्ग प्रयोग गर्दै अवैध रूपमा स्पेन छिर्न चाहने क्रममा ज्यान गुमाउने यी व्यक्तिमध्ये ४९ जना बालबालिका रहेको प्रतिवेदनमा जनाइएको छ । उक्त समूहद्वारा बिहीबार जारी प्रतिवेदनमा यसरी समुद्री दुर्घटनामा ज्यान गुमाउनेहरूमा अल्जेरिया, कंगो, माली, सुडान, सिरिया, श्रीलङ्का लगायत १४ देशका नागरिक रहेको जनाइएको छ ।

चार विभिन्न समुद्री मार्ग प्रयोग गर्दै स्पेन पुग्न चाहने क्रममा औसतमा प्रतिदिन पाँच व्यक्तिले ज्यान गुमाएको उक्त तथ्याङ्कले देखाएको छ । फेब्रुअरी र जुनको महिनामा अन्य महिनाको तुलनामा हताहतीको दर सबैभन्दा उच्च रहेको पाइएको छ । यसैबीच स्पेनका आन्तरिक मामिला मन्त्रिले यस वर्षको पहिलो ६ महिनामा मात्रै १२ हजारभन्दा बढी अवैध आप्रवासी डुंगा चढेर स्पेन आइपुगेको बताएका छन् ।

समयमै उद्धार अभियान नचलाइँदा र स्पेन र यसको छिमेकी देश मोरक्कोबीच समन्वय नहुँदा धेरै मानिसले अनाहकमा ज्यान गुमाउनु परेको सो संस्थाले जनाएको छ । वर्ष २०१८ यता मात्रै स्पेन पुग्न प्रयास गर्ने क्रममा ११ हजारभन्दा बढी आप्रवासीले समुद्री दुर्घटनामा ज्यान गुमाएको प्रतिवेदनमा जनाइएको छ ।

सुन्दर भविष्यको खोजीमा बर्सेनि हजारौँ अवैध आप्रवासी समुद्री तथा स्थल मार्ग प्रयोग गर्दै युरोप छिर्ने प्रयास गर्दछन् । कतिपय सफल हुन्छन् भने कतिपयले बाटोमै ज्यान गुमाउने गर्दछन् । मानव तस्करहरूले प्रयोग गर्ने असुरक्षित डुंगा र मानिसको अत्यधिक भिडका कारण अधिकांश दुर्घटना हुने गरेको जनाइन्छ ।

अन्तर्राष्ट्रिय आप्रवासन संस्था आईओएमका अनुसार यसवर्ष मात्रै ९५ हजारभन्दा बढी आप्रवासी विभिन्न देशबाट युरोप पुगेका छन् भने दुई हजारभन्दा बढीको विभिन्न दुर्घटनामा परेर निधन भएको छ ।

    सम्बन्धित समाचार...