२६ बैशाख २०८१, बुधबार

सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा बाबु र छोराको निधन, एक घाइते

bb e1688625133884

सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै निधन भएको छ ।

बिहीबार बिहान साढे १० बजे राप्ती राजमार्गअन्तर्गत जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोलामा दाङ, तुलसीपुरबाट रोल्पा जाँदै गरेको रा १ ख ८३४ नम्बरको बसले बिजुलीको तार छोइँदा उक्त घटना भएको हो ।

बुधबार राति आएको हावाहुरीका कारण सडक छेउको बिजुलीको तारमा रुख ढलेको थियो । सडकबाट बस पार गर्ने क्रममा बिजुलीको तारमा छोएर करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।

उक्त घटनामा रोल्पा गंगादेव गाउँपालिका वडा नं. ४ का ७२ वर्षीय बालराम डाँगी र उनकै छोरा ४२ वर्षीय टोपलाल डाँगीको निधन भएको हो । बसका मालिक सल्यान छत्रेश्री गाउँपालिका-६ लान्तीका ३४ वर्षीय महेन्द्र ओली घाइते भएका छन् । उनको अवस्था चिन्ताजनक रहेको छ । उनलाई उपचारको लागि कपुरकोट पठाइएको प्रहरीले जनाएको छ । बसमा २०-२५ जना यात्रु चढेका थिए । बसमा रहेका अन्य यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार...