२७ बैशाख २०८१, बिहीबार

नेपाल आयरल्याण्डसँग २ विकेटले पराजित

347415147 666887228800994 6828959696026901438 n

आईसीसी विश्वकप छनोट प्लेअफमा नेपालले आयरल्यान्डसँग २ विकेटले पराजित भएको छ । नेपाल टेस्ट राष्ट्रविरुद्ध जित नजिक पुगे पनि असफल भएको हो ।

जिम्बाब्वेको ताकासिन्हा स्पोर्ट्स क्लबमा पूरै ५० ओभर खेलेको नेपालले ९ विकेटको क्षतिमा २ सय ६८ रन बनायो । टिमको सुरुवात भने खराब रह्यो । ओपनर कुशल भुर्तेल ८ र ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भए । तेस्रो विकेटका लागि अर्का ओपनर अर्जुन साउद र कप्तान रोहित पौडेलले ५० रनको साझेदारी गर्दै इनिङ्स उकासे ।

अर्जुनले ३९ रन बनाउँदा कोर्टिस कम्फरको बलमा ग्यारेथ डेलानीले क्याच मिस गरेका थिए । तर ४८ रन बनाएपछि अर्जुन चौथो विकेटको रूपमा पेविलियन फर्किए । भीम सार्की २० रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरिले खाता खोल्न सकेनन् । कुशल मल्लले ३० बलमा ४४ रन हाने ।

आठौँ विकेटका लागि सन्दीप लामिछाने र गुलशन झा बीच ८० रनको कीर्तिमानी साझेदारी भयो । यो नेपालले ओडीआईमा आठौँ विकेटका लागि भएको ठूलो साझेदारी हो । प्लेअफमै युएईविरुद्ध दीपेन्द्रसिंह ऐरि र सन्दीपले बनाएको साझेदारीको रेकर्ड दुई दिनपछि तोडिएको हो । सन्दीप ३२ रनमा आउट भए । गुलशनले ४२ बलमा ५७ रनको अविजित पारी खेले । किशोर महतो १ रनमा अविजित रहे ।

जबाफी ब्याटिङ गरेको आयरल्यान्डलाई सुरुवातमा नेपालले दबाबमा राख्यो । हेरि टेक्टरले ६० र कम्फरले ६२ रन बनाएपछि टेस्ट टिम बलियो स्थितिमा पुगेको थियो । यी दुईको विकेट पतनसँगै नेपाल खेलमा फर्कियो । ४९ औँ ओभरमा करणले मार्क अडिरलाई आउट गरेपछि नेपालको जितको सम्भावना बढेको थियो । तर, अन्तिम ओभरमा गुल्सनलको बलमा डेलानी एक रन दौडिए भने दोस्रो बलमा ब्यारी म्याकार्थिले चौका हान्दै आयरल्यान्डको हार टारे ।

करण केसीले तीन, गुलशन झा र किशोर महतोले दुई दुई विकेट लिए पनि जित दिलाउन सकेनन् । योसँगै नेपाल विश्वकप छनोटमा आठौँ भएको छ ।

    सम्बन्धित समाचार...