२६ बैशाख २०८१, बुधबार

नवौँ पटक साफ च्याम्पियन बन्यो भारत

IND KUW Chhetri

भारतले कीर्तिमानी ९ औँ पटक साफ च्याम्पियनसिपको उपाधि उचालेको छ । फाइनलमा घरेलु टोली भारतले कुवेतलाई सडेन डेथमा हराउँदै साफ च्याम्पियनसिप-२०२३ को उपाधि उचालेको हो ।

बेंग्लोरस्थित कान्तिरभा स्टेडियममा भएको खेल पहिलो हाफमा एक-एक गोलको बराबरीमा रोकियो । सुरुवाती अग्रता भने कुवेतले लिएको थियो । १५ औँ मिनेटमा मोहम्मद अब्दुल्लाहले दिएको क्रसमा साबाइब अल खाल्दीले उत्कृष्ट फिनिसिङ गर्दै टिमलाई अघि बढाएका हुन् ।

३९ औँ मिनेटमा भारतले खेललाई बराबरीमा ल्यायो । कप्तान सुनील क्षेत्री दिएको क्रसमा लालिन्ज्वाला चांगटेले गोल गरेका हुन् । त्यसपछि कुनै गोल भएन ।

दोस्रो हाफमा दुवै टिमबाट गोल हुन सकेन । अब्दुल्लाहले दोस्रो हाफमा गरेको प्रहारलाई भारतका गोलरक्षक गुरप्रित सिंहले रोके । अनिरुद थापाको प्रयास विफल हुँदा भारतले अग्रता बनाउने मौका गुमायो । त्यसपछि थपिएको ३० मिनेटमा पनि गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा अब्दुल्लाहको पहिलो प्रहार विफल भयो । त्यसपछि फवाद अलोताइबी, अहम्मद अजिज, साबाइब अलखाल्दी र अब्दुल्लाह महरानले गोल गर्न सफल भए । यता भारतका लागि कप्तान क्षेत्री, सन्देश झिंगन, चांगटे र सुवासिस भोसले गोल गर्दा उदान्त सिंहले गरेको प्रहार पोस्ट माथिबाट बाहिरियो ।

पेनाल्टी सुटआउटमा पनि बराबरी भएपछि खेलको निर्णय सडेन डेथबाट भएको थियो । सडेन डेथमा कुवेती कप्तान खालेद हजियाले गरेको प्रहार गुरप्रितले रोकेपछि भारत कीर्तिमानी ९ औँ पटक दक्षिण एसियाको च्याम्पियन बन्न सफल भयो । यो भारतको लगातार दोस्रो उपाधि हो ।

यस अघि भारतले सन् १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५ र २०२१ मा उपाधि उचालेको थियो । प्रतियोगितामा यसपटक मध्य पूर्वबाट दुई राष्ट्र कुवेत र लेबनानको सहभागिता थियो । लेबनानलाई सेमिफाइनलमा हराएको भारत फाइनलमा कुवेतलाई हराउन सफल भयो ।

सुनील सर्वोत्कृष्ट खेलाडी, नेपाललाई फेयर प्ले अवार्ड 

भारतीय स्टार फवार्ड सुनील क्षेत्री साफ च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । साथै प्रतियोगिताका सर्वाधिक गोलकर्ता उनी लगातार दोस्रो पटक गोल्डन बुट जित्न सफल भए ।

साफ च्याम्पियनसिपको १४ औँ संस्करणमा भारतलाई फाइनलसम्म पर्‍याउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । उनले मंगलबार सम्पन्न प्रतियोगितामा कुल ५ गोल गरे । सबै गोल समूह चरणका तीन खेलमा भएका हुन् ।

समूह चरणमा उनले पाकिस्तानविरुद्ध ह्याट्रिक गर्दा नेपाल र कुवेतविरुद्ध समान एक-एक गोल गरेका थिए । साथै सेमिफाइनल र फाइनलमा पनि उनकै उत्कृष्ट भूमिका रह्यो । साथै उनले साफमा २३ गोल गर्दै माल्दिभ्सका लेजेन्ड अलि अस्फाकको कीर्तिमानसँग बराबरी गरेका छन् ।

यस्तै नेपालले प्रतियोगितामा फेयर प्ले अवार्ड हात पारेको छ । साविक उपविजेताको हैसियतमा प्रतियोगितामा सहभागी भएको नेपाल कम फल गर्ने र अनुशासित टिम भएकाले यो अवार्डबाट सम्मानित भएको हो । तर नेपाल समूह चरणभन्दा अघि बढ्न सकेन । नेपालले एक खेलमा मात्रै जित दर्ता गरेको थियो । 

प्रतियोगिताको १४ वर्षमा भारत ९ पटक च्याम्पियन बनेको हो । साफ च्याम्पियनसिपमा एकछत्र राज गरेको यो टोलीले १३ पटक फाइनलमा स्थान बनाउँदा पाँच पटकमात्रै विपक्षीलाई नतिजा सुम्पेको थियो । आगामी वर्ष हुने एएफसी एसिया कपको तयारीमा रहेको भारत घरेलु मैदानमा लगातार दोस्रो प्रतियोगिताको उपाधि उचाल्न सफल भयो ।SaffChampionshipIndia1 1688519750

    सम्बन्धित समाचार...