२६ बैशाख २०८१, बुधबार

युरोकप छनोट: नर्थ मेसेडोनियाको पोस्टमा इंग्ल्यान्डको सात गोल

England

युरोकप छनोट अन्तगर्त समूह ‘सी’ मा इंग्ल्यान्डले नर्थ मेसेडोनियालाई ७ – ० गोलले हराएको छ। इंग्ल्यान्डको जितमा ब्रुकायो साकाले ह्याट्रिक पूरा गरे ।

ओल्ड ट्राफोर्डमा भएको खेलको २९ औँ मिनेटमा लुक शको क्रसमा हेरी केनले गोल गरेर इंग्ल्यान्डको खाता खोले । ३८ औँ मिनेटमा साकाले गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको अन्तिम मिनेटमा मार्कस रासफोर्डले गोल गरेपछि इंग्ल्यान्ड ३ – ० ले अघि बढ्यो । दोस्रो हाफ सुरु भएको दुई मिनेटमै साकाले व्यक्तिगत दोस्रो गोल गरे । ५१ औँ मिनेटमा अर्को गोल गर्दै साकाले राष्ट्रिय टिमबाट पहिलो ह्याट्रिक पूरा गरे ।

६४ औँ मिनेटमा वैकल्पिक खेलाडी काल्भिन फिलिप्सले गोल गरे । ७३ ‍औँ मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टिमको जित सुनिश्चित बनाए ।

तालिकाको शीर्ष स्थानमा रहेको इंग्ल्यान्डको यो चार खेलमा चौथो जित हो । चौथो स्थानमा रहेको मेसेडोनियाको तीन अंक छ ।

यता समूह ‘डी’ अन्तगर्त वेल्सले टर्कीसँग २ – ० गोलको पराजय व्यहोरेको छ । खेलको पहिलो हाफमा जो मोरेल रातो कार्ड पाएर मैदान बाहिरिएपछि वेल्स १० खेलाडीमा झर्‍यो ।

त्यसको फाइदा उठाउँदै ७२ औँ मिनेटमा मेमेत उमुत नाइर र ८० औँ मिनेटमा अर्द गिरासले गोल गर्दै टर्कीको जित सुनिश्चत बनाए । लगातार दोस्रो पराजयपछि वेल्सको युरोकप छनोट यात्रामा ठूलो धक्का लागेको छ ।

    सम्बन्धित समाचार...