२५ बैशाख २०८१, मंगलवार

ठूला दलका नेताहरुले एकअर्कालाई आक्षेप लगाउने थलोको रुपमा संसदलाई दुरुपयोग गरेको रविको आरोप

rabi lamichhane 2

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ठूला दलका नेताहरुले एकअर्कालाई आक्षेप लगाउने थलोको रुपमा संसदलाई दुरुपयोग गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले जनताले आशा गरेको महत्वपूर्ण संसदलाई दुरुपयोग नगर्न आग्रह गरेका हुन् । उनले शीर्ष दलका नेताहरुलाई चिया गफ गर्ने ठाउँको अभाव भए नयाँ नेताहरुको घरमा आउन भन्दै कटाक्षसमेत गरे । ३० वर्षअघिको बजेट र अहिलेको बजेटको तुलना गर्दै उनले ठूला दलका नेताहरुलाई चिया खाने थलो परिवर्तन गर्न आग्रह गरे ।

‘३० वर्ष अगाडि सय रुपैयाँमा ३० रुपैयाँको तलब र ७० रुपैयाँ विकास गर्दा रहेछौँ । अहिले तपाईंहरुले दाबी गर्नु भयो नि हामीले यसो गर्‍यौँ, उसो गर्‍यौँ भनेर, अहिले ठ्याक्कै उल्टो ७० रुपैयाँको तलब खुवाउने र ३० रुपैयाँ बजेटमा छुट्याउने । यो अवस्थामा हामी आएका छौँ,’ उनले अगाडि भने, ‘त्यसकारण यो ३० वर्षको मूल्यांकन गर्दा तपाईंहरुले संसदमा उभिएर एकअर्कालाई छेडखानी गर्नुपर्दैन । त्यसका लागि एक अर्काको घरमा गएर चिया खाएर कुराकानी गर्नुहोस् । नेपाली जनताले आशा गरेको यो महत्वपूर्ण संसदलाई दुरुपयोग नगरिदिनुहोस् । म अनुरोध गर्न चाहन्छु । चिया खाने ठाउँको अभाव छ भने हामी नयाँ नेताहरुको घरमा आउनुहोस् केही फरक पर्दैन । तपाईंहरुकैमा जानु पर्छ भन्ने छैन । अब चिया खाने थलो परिवर्तन गर्नुहोस् ।’

यस्तै लामिछानले सरकारले ल्याएको नीति तथा कार्यक्रममा पुरानै कुराहरुको निरन्तरता भएको उल्लेख गर्दै हरेक वर्ष संसदमा प्रस्तुत गर्नुको उपादेयता नदेखिएको स्पष्ट पारे । ‘सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई अघिल्ला वर्षका नीति तथा कार्यक्रमसँग मैले दाजेर हेरेँ । यसमा मैले तात्विक भिन्नता पाउन सकिनँ,’ उलने भने, ‘अहिलेको गठबन्धन सरकारले अघिल्लो वर्षको नीति तथा कार्यक्रम निरन्तरता दिन्छौँ भनेको भए पनि खासै फरक पर्ने देखिनँ । हरेक वर्ष नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नु पढ्ने बाहेक अरु उपादेयता मैले दिखिनँ ।’

संसदमा नीति तथा कार्यक्रममाथि छलफल हुने तर सांसदले दिएका सुझाव नसमेटिने गरिएको प्रति उनले असन्तुष्टि व्यक्त गरे । साथै सांसदले बोलेका कुरालाई नीति तथा कार्यक्रममा नसमेट्ने हो भने २७५ जनामध्ये कसले राम्रो बोल्ने भन्ने वत्तृत्वकला मात्रै हुने टिप्पणी गरे । ‘छलफलका क्रममा आएका सुझावलाई लिएर सरकाले संशोधन नगर्ने, संसदको बहसको यो महत्वपूर्ण समय, यसको कुनै अर्थ छैन, मान्यता छैन भने यसलाई २७५ जनामध्ये कसले राम्रो बोल्ने भन्ने वत्तृत्वकलाको रुपमा मात्रै हेर्नु पर्ने अवस्था रहेको छ । उनले भने ।

    सम्बन्धित समाचार...