१४ बैशाख २०८१, शुक्रबार

विद्युतीय सवारीसाधनको कर घटाइयोस्, बढाउने चेष्टा नगरियोस् : सोविता गौतम

sobita

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले विद्युतीय सवारीसाधनको कर घटाउन सरकारसँग माग गरेकी छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा सांसद गौतमले जलवायु संकट मध्यनजर गर्दै डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधन प्रतिस्थापनको माग गरेकी हुन् । ‘देशको बढ्दो व्यापार घाटा नियन्त्रण तथा जलवायु संकटलाई मध्यनजर गर्दै वातावरण प्रदूषण नियन्त्रण आदिका लागि ग्यास, डिजेल पेट्रोलबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीले प्रतिस्थापन गर्नु अनिवार्य छ,’ शून्य समयमा सांसद गौतमले भनिन् ।

उनले विभिन्न स्वार्थ समूहसँगको मिलेमतोमा विद्युतीय सवारीसाधनको कर बढाउने चलखेल आफूले गाइँगुई सुनेको दाबी पनि गरिन् । सरकारको नीति तथा कार्यक्रममा विद्युतीय सवारीसाधनबारे आंशिक रुपमा समेटिए पनि त्यो पर्याप्त नभएको उनको जिकिर छ । संसद्‌मा उनले भनिन्, ‘यो कुरा अर्थमन्त्री र ऊर्जामन्त्री स्वयंले पक्कै बुझ्नु भएको छ । नीति तथा कार्यक्रममा आंशिक रुपमा समेटिए जस्तो पनि देखिन्छ, तर विभिन्न स्वार्थ समूहसँगको मिलेमतोमा विद्युतीय सवारीको कर बढाउने चलखेल हुँदै छ भन्ने गाइँगुई सुनिँदै छ ।’

सरकारले सन् २०२५ सम्ममा नेपालमा गुड्ने कुल निजी सवारीमध्ये विद्युतीय सवारीको संख्या २५ प्रतिशत र सार्वजनिक सवारीको संख्या २० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । ‘करको दर बढाउने हो भने यो सम्भव पक्कै हुने छैन,’ उनले भनिन् ।

उनले विद्युतीय सवारीसाधनलाई राजस्व संकलनको माध्यमबाट मात्र नहेरी वातावरण संरक्षणका हिसाबले प्राथमिकता दिनुपर्ने जिकिर गरिन् । ‘विद्युतीय सवारीलाई राजस्व संकलनको माध्यमबाट मात्र हेरिनु हुँदैन, वातावरणीय संक्षणलाई पनि उत्तिकै टेवा पुग्नेछ,’ सांसद गौतमले भनिन्, ‘त्यसैले, बजेटलाई अन्तिम रूप दिँदै गर्दा सम्माननीय सभामुखमार्फत म अर्थमन्त्रीज्यूको ध्यानाकर्षण गर्न चाहन्छु कि सके विद्युतीय सवारीको दर घटाइयोस् तर बढाउने चेष्टाचाहिँ गर्दै नगरियोस् ।’

    सम्बन्धित समाचार...