१५ बैशाख २०८१, शनिबार

वसन्त ऋतुमै १२ सय आरोहीको सगरमाथा आरोहण गर्ने लक्ष्य

sagarmatha

यो वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहण गर्न करीब १२ सय आरोही लामबद्ध छन् । सर्वोच्च शिखर सगरमाथामा आरोहण शुरू भइसकेको छ । सबैभन्दा धेरै आरोही जाने र पर्वतारोहणका लागि बढी महत्त्व हुने पनि यही हिमाल हो । सगरमाथामा मात्रै यो वर्ष ४७ वटा आरोहण टोलीका ४७८ ले आरोहण अनुमति लिएका छन् ।

यो संख्या अहिलेसम्मकै धेरै भएको पर्यटन विभागले जानकारी दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभागको तथ्यांकअनुसार वैशाख ३१ (१४ मे)सम्ममा विभिन्न २८ वटा हिमाल आरोहणका लागि १३६ वटा आरोहण टोली गएका छन् । यी टोलीमा ८९९ पुरुष र २७७ महिला गरी कुल ११ सय ७६ जना छन् ।

आरोहण टोलीबाट सरकारले ५८ लाख ४४ डलर अर्थात ७६ करोड ५७ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।विभागले आरोहीसँग आरोहण रोयल्टी लिएर मात्र अनुमति दिने गरेको छ । यस्तो रोयल्टी रकम सगरमाथाका लागि सबैभन्दा बढी प्रतिव्यक्ति ११ हजार डलर तिर्नुपर्छ । अन्य हिमालका लागि भने हिमालअनुसार २५० देखि १८ सय डलरसम्म तिर्नुपर्ने व्यवस्था छ । रोयल्टी रकम वसन्त ऋतुको तुलनामा शरदमा आधा कम हुन्छ ।

आरोहणका लागि वसन्त ऋतु नै सबैभन्दा बढी उपयुक्त हुने भएकाले यो बेला सबैजसो हिमालको शिखर चुम्न चाहनेहरूको भीड लाग्ने गरेको छ । आरोहीले रुचाउने र पटक–पटक आरोहण भइरहने यस सिजनमा २८ वटा हिमाल आरोहणका लागि ८० देशका नागरिकले अनुमति लिएको पर्यटन विभागले जानकारी दिएको छ । आरोहण अनुमति लिएकामध्ये ५ वटा टोलीका ७७ जना नेपाली छन् । बाँकी सबै आरोही विदेशी हुन् ।

अर्थतन्त्र शिथिल भएको बेला पर्वतारोहण राहत हुने दाबी पर्वतीय पर्यटनका विज्ञ तथा एसियन ट्रेकिङका अध्यक्ष आङछिरिङ शेर्पा बताउँछन् । नेपालको नाम र सगरमाथाको ब्रान्ड चिनाउने तथा पर्यटकबाट लाभ लिने उपयुक्त माध्यम नै पर्वतीय पर्यटन हो । नेपालमा पर्यटक भित्र्याएर डलर कमाउन सकिने यो क्षेत्रको योगदान सम्पूर्ण पर्यटनको आधाभन्दा बढी रहेको उनको दाबी छ ।

पर्वतीय पर्यटनअन्तर्गत ट्रेकिङपछि बढी आम्दानी हुने र संसारकै चासो हुने पर्वतारोहण हो । यो बेला हिमाल आरोहणको सिजन भएकाले संसारभरका पर्वतारोहीको ध्यान सगरमाथा र ६ हजार मिटरमाथिका हिमालमा छ । शेर्पाका अनुसार नेपालमा पर्यटन क्षेत्रबाट मात्र १ खर्ब ५५ अर्ब रुपैयाँ बराबर रकम सरकारी अम्दानीको रूपमा भित्रिने गरेको छ ।

पर्यटनबाटै बजारमा हुने खर्च ३ खर्ब रुपैयाँ नाघ्ने उनको अनुमान छ । नेपालमा पर्वतारोहणबाट मात्रै संकलन हुने राजस्व पौने १ अर्ब रुपैयाँ पुगेको छ । पर्वतारोहीले यसक्रममा गर्ने खर्च त्यसको दोब्बर हुने शेर्पा बताउँछन् ।

    सम्बन्धित समाचार...