१५ चैत्र २०८०, बिहीबार

स्पष्टीकरणपछि सडकको काम पुनः सञ्चालन

road construction
सांकेतिक तस्विर

ठेक्का सम्झौता भएर लामो समयसम्म प्रगति हुन नसकेको तनहुँको भानु नगरपालिकास्थित भानु मार्गको काम पुनः सुरु भएको छ । पटक–पटक म्याद थप भएर पनि सडक कालोपत्रको काम ढिलासुस्ती भएको उक्त खण्डमा पूर्वाधार विकास कार्यालयले निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेपछि काम पुनः सुरु भएको हो ।

कार्यालयले केही समय अगाडि कारबाहीस्वरुप स्पष्टीकरण सोधेको थियो । लगत्तै निर्माण कम्पनीले कामलाई अगाडि बढाएको छ । भानु नगरपालिका–१३ चन्द्रावती, पोखरीछाप, ठूल्ढुङ्गा दश किलोमिटर सडकखण्डको कालोपत्र ढिलाइ हुँदा सर्वसाधारणलाई सास्ती हुँदै आएको छ ।

पछिल्लो पटक थपिएको म्याद असार मसान्तसम्म रहेकामा निर्माण कम्पनीले कामलाई निरन्तरता दिएको जिल्ला समन्वय समितिका पूर्व सदस्य एवं स्थानीयवासी गलबहादुर गुरुङले जानकारी दिए । उनले भने, ‘अहिले कामले केही गति लिन खोजेको जस्तो देखिन्छ । दुई जेसिभी, दुई स्काभेटर, दुई टिपर, दुई ट्याक्टर प्रयोग गरी काम अगाडि बढेको छ, कामदार पनि केही संख्यामा थपिएको छ ।’

असार मसान्तभित्र उक्त खण्डको कामको प्रगति ४० प्रतिशत हुनसके निर्माण कम्पनीको म्याद थप्ने नभए ठेक्का सम्झौता तोड्ने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए । ‘निर्माण कम्पनीको लापर्बाहीका कारण कामले सोचेअनुरुप गति लिन नसकेपछि बसेको सर्वपक्षीय बैठकले असारसम्मको कामको प्रगति हेरेर म्याद थप गर्ने वा ठेक्का तोड्ने भन्ने निर्णय लिनेछ’, उनले भने । भानुमार्ग–चन्द्रावती–पुलिमराङ कुन्छा कालीमाटी सडकको हालसम्मको प्रगति करिब २० प्रतिशत मात्रै रहेको छ । विसं २०७६ कात्तिक ४ गते ठेक्का लागेको उक्त सडकको भौतिक प्रगति तीन वर्षमा अत्यन्तै न्यून रहेको हो ।

निर्माण व्यवसायीको लापर्बाहीका कारण दुई पटक म्याद थप हुँदा समेत काम नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएको स्थानीयवासी गुरुङले बताए । ‘१० किलोमिटर सडकखण्ड कालोपत्र गर्ने काममा निर्माण व्यवसायीले लापर्बाही गर्दै आएका छन्, पटक–पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा पनि काम अगाडि बढ्न सकेन’, उनले भने, ‘बाटोको काम नहुँदा सर्वसाधारणले वर्षामा हिलो र हिउँदमा धुलोको सास्ती बेहोर्नु परेको छ ।’

पूर्वाधार विकास कार्यालय तनहुँले मोटरमार्गको १० किमि खण्ड कालोपत्रे, नाला निर्माण तथा ग्याविन जाली भर्नेलगायतका कामका लागि काठमाडाैंस्थित शङ्करमाली कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो । उक्त मोटरमार्ग कालोपत्रेका लागि पूर्वाधार कार्यालयले रु २३ करोड दुई लाख ८० हजारमा ठेक्का सम्झौता गरेको थियो । कार्यालयले निर्माण कम्पनीलाई रु दुई करोड ६८ लाख निकासा गरिसकेको छ । समयमा काम सम्पन्न नभएपछि विसं २०८० असार १४ गतेसम्म म्याद थप भएको कार्यालय प्रमुख दिनेश घिमिरेले जानकारी दिए ।

१० किलोमिटर सडकखण्ड कालोपत्र, नाला निर्माण तथा ग्याविङ जाली भर्नेलगायतका काम विसं २०७८ माघ १५ गतेभित्र सम्पन्न गर्न विसं २०७६ कात्तिक ४ गते सम्झौता भएको थियो । विसं २०४९ मा चन्द्रावतीबाट पोखरीछापसम्म सडकको ट्रयाक खोली सवारीसाधन सञ्चालन हुँदै आएको छ । बर्षातका बेला सडक हिलाम्य हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।

सडक कालोपत्रे गर्ने काममा ढिलासुस्ती हुँदा यस भेगका स्थानीयवासीले बर्सातमा सास्ती खेप्दै आएका छन् । निर्माण व्यवसायीको लापर्बाहीका कारण बर्सातमा हिलो र हिउँदमा धुलोले स्थानीयवासी मर्कामा पर्दै आएको भानु नगरपालिका–१३ का वडाध्यक्ष कृष्ण अधिकारीले बताए ।

    सम्बन्धित समाचार...