२४ बैशाख २०८१, सोमबार

कांग्रेसमा दुई धार

nepali congress

भुटानी शरणार्थी प्रकरणमा मुछिएका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्ने कि नगर्ने भन्नेमा पार्टीभित्र प्रस्ट रूपमा दुई धार देखिएको छ।

पार्टी सभापति शेरबहादुर देउवासहितका नेता अनुसन्धानका लागि प्रहरीले कुनै पनि नेतालाई गिरफ्तार गर्नेबित्तिकै निलम्बन गर्न नहुने पक्षमा छन्। तर महामन्त्री गगनकुमार थापासहित नेताहरू आरोप लागेपछि अनुसन्धान चल्दासम्म आरोपित स्वयं पार्टीको जिम्मेवारीबाट अलग हुनुपर्ने वा पार्टीले अलग गराउनुपर्ने पक्षमा देखिएका छन्।

सभापतिनिकट नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीले अनुसन्धान र छानबिन प्रक्रियामा प्रहरीलाई पूर्ण रूपमा सघाइरहेको बताएका छन्। महतले मंगलबार बिहान पत्रकारसँगको भेटमा सभापति शेरबहादुर देउवादेखि सबै शरणार्थी प्रकरणमा निष्पक्ष र स्वतन्त्र अनुसन्धानको पक्षमा रहेको बताएका हुन्। गत चैत १७ गते अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका महतले पार्टी नेता खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि पहिलोपटक पत्रकारसँग भेटेका हुन्।

कांग्रेस दोषी उम्कन नहुने र निर्दोष फस्न नहुने पक्षमा रहेको बताउँदै महतले भुटानी शरणार्थी प्रकरणमा ‘मिडिया ट्रायल’ भएको पनि गुनासो गरे। कांग्रेस केन्द्रीय सदस्यद्वय आरजु राणा र मञ्जु खाणबारे मिडिया ट्रायल भइरहेको तर्क गर्दै महतले भने, ‘आरजुले त्यो अडिओ फेक हो भनेर साइबर ब्युरोमा उजुरी दिइसक्नुभएको छ। हामीलाई पनि त्यो फेक हो भन्ने लाग्छ तर अहिले उहाँहरूविरुद्ध मिडिया ट्रायल भइरहेको छ।’

कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरू भने खाणलाई छानबिन चल्दासम्म केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने पक्षमा छन्। महामन्त्री थापाले मंगलबार भुटानी शरणार्थीका विषयमा आफ्ना धारणा सार्वजनिक गर्दै यो प्रकरणमा जोडिएका पार्टी नेतालाई निलम्बन गर्नुपर्नेमा जोड दिएका छन्।

उनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने प्रकरण ठगी मात्र नभई संगठित अपराध र मानव बेचबिखन भएको बताएको आजको नागरिक दैनिकमा खवर छ ।