१६ बैशाख २०८१, आईतवार

इन्टर १३ बर्षपछि च्याम्पियन्स लिगको फाइनलमा

inter milan

इटालियन क्लब इन्टर मिलान १३ वर्षपछि यूएफा च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । इन्टरले दुई लेगको सेमिफाइनलमा चिर प्रतिस्पर्धी एसी मिलानलाई ३-० गोलले पराजित गरेको हो ।

सान सिरोस्थित घरेलु मैदानमा गएराति भएको दोस्रो लेगमा इन्टरले मिलानमाथि एक-शून्य गोलको जित हात पार्यो । पहिलो लेगमा दुई-शून्यको अग्रता लिएको इन्टरविरुद्ध मिलानले पुनरागमन गर्न सकेन । घरेलु समर्थको उल्लेख्य साथ पाएको इन्टरले सुरुवातदेखि नै मिलानमाथि दबाब सिर्जना गरेको थियो । तर पहिलो हाफमा गोल हुन सकेन ।

७४औं मिनेटमा इन्टरले डेडलक तोड्यो । उसका लागि रोमेलु लुकाकुको सहयोगमा लौतारो मार्टिनेजले गोल गरेका थिए । अर्जेन्टाइन फरवार्ड मार्टिनेजको जारी सिजन च्याम्पियन्स लिगमा यो तेस्रो गोल हो । बाँकी समयमा मिलान खेलमा फर्कन सकेन । पछिल्लोपटक इन्टर सन २०१० मा च्याम्पियन्स लिगको फाइनल पुगेको थियो । त्यसबेला उसले बायर्न म्युनिखलाई हराएर उपाधि जितेको थियो ।

त्यसयता भने कुनै पनि इटालियन क्लब च्याम्पियन बनेको छैन । अब फाइनलमा इन्टरले म्यानचेस्टर सिटी र रियाल मड्रिडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यी दुईबीचको सेमिफाइनल दोस्रो लेग आज राति हुनेछ ।

    सम्बन्धित समाचार...