३१ बैशाख २०८१, सोमबार

दर्ताबिनाका मोबाइलमा ‘नेटवर्क लक’ हुने

phone tracking

मोबाइलको आयात र प्रयोगलाई व्यवस्थित गर्न स्थापना गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सोमबारदेखि लागु हुने भएको छ। यससँगै अबदेखि नेपाल भित्रिने मोबाइल (सम्बन्धित मोबाइलको आइएमइआई) लाई यो प्रणालीमा अनिवार्य दर्ता गर्नुपर्ने छ।

प्रणालीमा दर्ता नभएका मोबाइलको ‘नेटवर्क लक’ गरिने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। लक भएका त्यस्ता मोबाइलमा नेपालका दूरसञ्चार कम्पनीको सेवा उपलब्ध नहुने प्राधिकरणले स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार प्रणालीमा मोबाइलको आइएमइआई दर्ता गर्न कुनै शुल्क लाग्दैन। त्यस्तै आइतबार (वैशाख ३१) सम्म प्रयोगमा रहेका मोबाइल भने प्रणालीमा स्वतः दर्ता हुने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए।

लामो समयको उतारचढावपछि एमडिएमएस कार्यान्वयनमा आउन लागेको हो। सरकारले गत आर्थिक वर्षको बजेटमार्फत नै २०७८ साउनदेखि यो लागु गर्ने घोषणा गरेको थियो तर सबै उपकरण नआएको कारण देखाउँदै प्राधिकरणले तोकिएको समयमा यसलाई सञ्चालनमा ल्याउन सकेको थिएन।

दोस्रो पटक २०७९ पुस १५ गतेदेखि एमडिएमस लागु गर्ने प्राधिकरणले औपचारिक घोषणा गरे पनि सार्वजनिक विरोधपछि त्यसलाई तत्कालका लागि स्थगित गरेको थियो। खास गरी व्यक्तिगत प्रयोजनका लागि ल्याइने मोबाइलको भन्सारसँग सम्बन्धित नीति व्यावहारिक नभएको भन्दै भएको विरोधका कारण त्यससँग असम्बन्धित एमडिएमएस प्रणाली पनि त्यति बेला स्थगित हुन पुगेको थियो।

नेपालमा अवैध मोबाइल भित्रिएका कारण त्यसबाट ठुलो रकम बराबरको राजस्व चुहावट भइरहेको ठहर गर्दै सरकारले प्राधिकरण अन्तर्गत रहने गरी यो प्रणाली लागु गर्ने निर्णय गरेको थियो। निर्णय भएको पाँच वर्ष पूरा भएपछि मात्र यो सञ्चालनमा आउने अवस्था बनेको हो। प्राधिकरण स्वयम्ले पनि नेपालमा अवैध मोबाइलको आयात बढेको र यसले जोखिम निम्त्याएको भन्दै यो प्रणाली लागु गर्न पछिल्लो समय सव्रिmयता देखाइरहेको थियो। प्रणाली स्थापनाका लागि प्राधिकरणले ८० करोड रुपियाँ खर्च गरिसकेको छ।

गत पुसमा यो प्रणाली लागु गर्नुपूर्व प्राधिकरण आफैँ पनि यसमा दर्ता हुन आवश्यक कागजातका विषयमा अन्योलमा थियो। व्यक्तिगत रूपमा मोबाइल ल्याउँदा त्यस्ता मोबाइल खरिद गरिएको रसिद देखाउनुपर्ने अव्यावहारिक सर्त राखेको प्राधिकरणले अहिले त्यसमा भने सहजीकरण गरेको छ। प्राधिकरणका अनुसार व्यक्तिगत रूपमा त्यसरी नेपाल भित्र्याइने मोबाइल आफैँले प्रणालीमा दर्ता गर्नुपर्ने छ।

एमडिएमएस प्रणालीका लागि प्राधिकरणले सञ्चालनमा ल्याएको वेबसाइट (एमडिएमएस डट एनटिए डट जिओभी डट एनपी) मार्फत मोबाइल दर्ता गर्नुपर्ने छ। त्यसरी मोबाइल दर्ता गर्दा राहदानी अथवा नागरिकता र राहदानीमा ‘डिपार्चर स्ट्याम्प’ अनि ‘अराइभल स्ट्याम्प’ वा बोर्डिङ पास अपलोड गर्नुपर्ने छ। नेपाल भित्रिने व्यक्तिगत मोबाइल १५ दिनसम्म भने बिनादर्ता नै प्रयोग गर्न सकिने आजको गोरखापत्र दैनिकमा खवर छ ।

    सम्बन्धित समाचार...