२१ बैशाख २०८१, शुक्रबार

नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक आजदेखि

eleectricity in nepal

बंगलादेशको ढाकामा आज (सोमबार) देखि नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय पाँचौं बैठक सुरु हुने भएको छ । विद्युत व्यापारका लागि प्रसारण लाइन निर्माणसँगै जलविद्युत आयोजनामा लगानी गर्ने मुख्य एजेन्डासहित बैठक बस्न लागेको हो ।

ऊर्जा मन्त्रालयका अनुसार ६ सय ८३ मेगावाटको जलाशययुक्त सुनकोशी तेस्रो आयोजना संयुक्त लगानीमा कसरी अघि बढाउने भनेर छलफल हुनेछ । जेठ १ मा सह-सचिवस्तरीय र जेठ २ मा सचिवस्तरीय बैठक बस्नेछ । यसअघि गत भदौमा काठमाडौंमा बसेको ऊर्जा सचिवस्तरीय बैठकमा ५० मेगावाट बराबरको बिजुली नेपालले बंगलादेशमा बेच्ने सहमति भएको थियो। यसै अनुरुप गत फागुनमा भारतको राजस्थानमा भएको १० औं नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठकमा नेपालको ५० मेगावाट बिजुली बंगलादेशसम्म निर्यात गर्न दिन भारतीय पक्ष सहमत भएको थियो । यसै अनुरुप लिखु ४ को बिजुली बेच्न भारतसमक्ष नेपाल सरकारले प्रस्ताव गरेको थियो । तर यसमा अहिलेसम्म भारतले स्वीकृति दिएको छैन । पटक-पटक हुने सरकार परिवर्तनका कारण यसअघि भएका सम्झौता नेपालले कार्यान्वयनमा ल्याउन नसकेको ऊर्जा उद्यमी बताउँछन् ।

गत भदौमा बसेको नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय चौथो बैठकले दुई देशबीच डेडिकेटेड विद्युत् प्रसारण लाइन निर्माण गर्न त्रिपक्षीय समझदारीका लागि दुवै पक्षले भारतसँग पहल गर्ने सहमतिसमेत भएको थियो । तर, गत फागुनको नेपाल-भारत सचिवस्तरीय बैठकमा यसबारे कुनै सहमति जुटेन ।

बैठकमा ऊर्जा व्यापारका विषयमा प्राथमिकताका साथ छलफल हुने मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री एनपी साउदको बंगलादेश भ्रमणका क्रममा आइतबार दुई देशका निजी क्षेत्रबीच भएको छलफलमा पनि विद्युत व्यापारको विषयले प्रवेश पाएको थियो ।

    सम्बन्धित समाचार...