१६ बैशाख २०८१, आईतवार

बार्सिलोना चार खेल अगाडि नै ला लिगा च्याम्पियन

Barcelona

क्याटलान क्लब बार्सिलोनाले २०१८/१९को सिजनपछि पहिलो पटक स्पेनिस लिग ला लिगाको उपाधि उचालेको छ । गएराति बार्साले सहरी प्रतिद्वन्द्वी इस्पान्योललाई ४ – २ गोलले हराउँदै च्याम्पियन बनेको हो ।

इस्पान्योलको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमै बार्साले ३ गोलको अग्रता बनाएको थियो । ११ औँ मिनेटमा पोलिस स्टार रोबर्ट लेवान्डोस्कीको गोलमा बार्साले खाता खोल्यो । २० औँ मिनेटमा अलेहान्द्रो बाल्डेले गोल गर्दै बार्साको अग्रता दोब्बर बनाए । ४० औँ मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सालाई ३ गोलले अघि राखे । उनको यो जारी सिजनको २० औँ लिग गोल हो ।

५३ औँ मिनेटमा युलेस कोन्डेले हेडरमार्फत बार्साको चौथो गोल गर्दै लगभग जित सुनिश्चित बनाएका थिए । ७३ औँ मिनेटमा जाभियर पाउडो र इन्जुरी समयमा जोसेलुले गोल फर्काए पनि जितका लागि पर्याप्त भएन ।

यो जितपछि बार्साले ८५ अंक बनाउँदै ३४ खेल मै च्याम्पियन बनेको हो । दोस्रो स्थानमा रहेको रियाल मड्रिड १४ अंकले पछाडि छ । क्लबका लेजेन्ड लियोनल मेस्सीले अगस्ट २०२१ मा बार्सा छोडे यता पहिलो पटक बार्सा स्पेनिस च्याम्पियन बनेको हो । नोभेम्बर २०२१ मा आएका जाभी हर्नान्डेजले प्रशिक्षकका रुपमा पहिलो पटक लिग जितेका हुन् । बार्सामा खेल्दा जाभीले ८ पटक ला लिगा जितेका थिए । यो बार्साको २७ औँ ला लिगाको उपाधि हो ।

    सम्बन्धित समाचार...