१५ बैशाख २०८१, शनिबार

पोखरामा १० दिन लुकेर बसेका रायमाझी शनिबार काठमाडौं आएका थिए, आइतबार प्रहरी फन्दामा

top bahadur rayamajhi
फाइल फोटो

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएको ११ दिनपछि आज (आइतबार) एमाले सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । उनलाई आज साँझ बुढानिलकण्ठको पासीकोटबाट पक्राउ गरिएको हो । उनी त्यहाँ आफ्नो पूरानो साथीको एक घरमा लुकेर बसेका थिए ।

पक्राउ परेका रायमाझीलाई अहिले काठमाडौं प्रहरी परिसर टेकु ल्याईएको छ । उनी १० दिनसम्म पोखरामा लुकेर बसेको प्रहरी उच्चस्रोतको दाबी छ। हिजोमात्रै उनी पोखराबाट स्थलमार्ग हुँदै काठमाडौं आईपुगेका थिए । काठमाडौं आएको भोलिपल्टै उनी प्रहरीको फन्दामा परेका हुन् । रायमाझीलाई पक्राउ गर्न प्रहरीको एक टोली काठमाडौंबाट परिचालित भएर पोखरा पुगेको थियो ।

रायमाझीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । यो प्रकरणमा रायमाझीका छोरा सन्दीप पनि पक्राउ परेका छन् । यस्तै, नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पनि पक्राउ परेका छन् ।

रायमाझी पक्राउ पर्नुअघि १२ जना अभियुक्तहरुमाथि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । रायमाझी पक्राउ परेसँगै यो प्रकरणमा अभियुक्तहरुको संख्या १३ पुगेको छ ।

अझै केहीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । रामबहादुर थापाका छोरा प्रतिकलगायत केहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    सम्बन्धित समाचार...