३१ बैशाख २०८१, सोमबार

पार्टीका नेताहरु एकपछि अर्को गर्दै मुछिन थालेपछि नेपाली कांग्रेस तरंगित

khand adalat

नक्कली शरणार्थी प्रकरणमा पार्टीका नेताहरु एकपछि अर्को गर्दै मुछिन थालेपछि नेपाली कांग्रेस तरंगित बनेको छ । कांग्रेसभित्रको गुटगत राजनीति यो प्रकरणमा पनि देखिएको छ । केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण प्रक्राउ परेपछि कांग्रेस नेताहरु दैनिकजसो छलफलमा छन् ।

केही नेताले खाणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्नुपर्छ भनेर दबाब दिइरहँदा केहीले भने खाणलाई मात्रै फसाएर नेतृत्वले अन्यलाई जोगाउन खोजेको भन्दै असन्तुष्टि जनाएका छन् ।

सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने पूर्वगृहमन्त्री तथा केन्द्रीय सदस्य बालकृष्ण खाण प्रहरीको हिरासतमा छन् । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परे पनि पार्टीले खाणलाई जिम्मेवारीबाट हटाएको छैन । पदाधिकारी बैठकमा कुरा उठे पनि देउवाले इन्कार गर्दै आएका छन् ।

कांग्रेसभित्रै यो प्रकरणको उचित छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने आवाज बढ्दै गएको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा सह-महामन्त्री भीष्म आङदेम्बेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर नक्कली शरणार्थीको प्रकरणको सूक्ष्म अनुसन्धान गर्न आग्रह गरेका छन् ।

त्यस्तै गोविन्द पोखरेल, रन्जित कर्ण, भुपेन्द्र शाहीलगायत युवा नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटरै अनुसन्धानका लागि धन्यवाद दिएका छन् । पार्टीका केही नेताहरुले अनुसन्धानलाई सघाउने बताइरहँदा संस्थापन पक्षकै केही नेता भने पछिल्लो घटनाक्रमप्रति सन्तुष्ट छैनन् । पूर्वगृहमन्त्री खाणनिकट केही नेताले त खाण र उनकी पत्नी मन्जुलाई मात्र फसाउन खोजिएको भन्दै नेतृत्वसँग असन्तुष्टि जनाएका छन् ।

पूर्वगृहमन्त्री खाण र पत्नी मन्जुसँगै सभापति देउवा पत्नी आरजुको नाम पनि यो प्रकरणमा जोडेर चर्चा हुने गरेको छ । बिनाप्रमाण पार्टीका नेताहरुको नाम जोडेर प्रचारबाजी गरेको कतिपय नेताको आरोप छ ।

संगठित अपराध मात्र नभई मुलुककै प्रतिष्ठासँग जोडिएको शरणार्थी प्रकरणमा पार्टीका प्रभावशाली नेताहरु मुछिँदासमेत कांग्रेसले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन । आरोपितहरुको पक्ष र विपक्षमा उभिने केही नेताहरुको चरित्रले कांग्रेसको नीतिगत प्रतिवद्धतामाथि नै प्रश्न उब्जाएको छ ।