४ जेष्ठ २०८१, शुक्रबार

देशभर जाग्दै भ्रष्टाचार विरोधी अभियान

Rabi dharna

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहमा उच्च तहका राजनीतिक नेतृत्व नै मुछिन थालेपछि देशभर भ्रष्टाचार विरोधी अभियान सुरु भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपीहरू धमाधम पक्राउ पर्दै गएपछि सर्वसाधारण र नागरिक अगुवाको नेतृत्वमा भ्रष्टाचार विरोधी अभियान देशभर फैलिँदै गएको हो । भ्रष्टाचार विरोधी अभियान नागरिकस्तरबाटै उठ्दै गएपछि सरकारको नेतृत्व गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकोसमेत आत्मबल बढेको छ ।

शनिबार देशका विभिन्न स्थानमा नागरिकस्तरबाटै उठेको भ्रष्टाचार विरोधी अभियानले सरकारलाई समेत खबरदारी गर्दै प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघर मण्डलामा भएको प्रदर्शनमा सर्वसाधारण नागरिक, राजनीतिक दलका कार्यकर्ता, नागरिक अगुवाहरू सहभागी हुँदै भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनमार्फत भ्रष्टाचारीलाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरिएको छ ।

प्रदर्शनमा सहभागीले ‘करोडौंको महल तिमीलाई कसले किन्दियो?, सरकार भ्रष्टाचारी खोज्न खट्ने कि पछि हट्ने ? जस्ता नारा लेखेको प्लेकाड प्रदर्शन गरेका थिए भने प्रदर्शनकारीले कारबाही प्रक्रिया अघि बढाउँदा खुट्टा नकमाउन सरकारलाई खबरदारीसमेत गरेका छन् ।
शनिबार नै काठमाडौंको नक्सालस्थित नारायण चौरमा समेत भ्रष्टाचार विरोधी प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागी नागरिक अगुवा तथा चिकित्सक डा. गोविन्द केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले खुट्टा नकमाई दोषीलाई कानुनी कठघरामा ल्याउनुपर्ने बताए । उनले नक्कली शरणार्थी प्रकरणमा अन्य ठूला नेताको पनि संलग्नता रहेको हुन सक्ने आशंका गर्दै विस्तृतमा छानबिन हुनुपर्ने माग गरे ।

‘नक्कली शरणार्थी प्रकरणमा अन्य ठूला नेताको पनि संलग्नता हुन सक्छ, विस्तृतमा र निष्पक्ष छानबिन हुनुपर्छ, शीर्ष नेता दोषी रहेको पाइयो भने पनि उनीहरूलाई कारबाही हुुनपर्छ,’ केसीले भने ।

नक्सालमा आयोजित भ्रष्टाचार विरोधी अभियानमा सहभागी हुन नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसमेत पुगेका थिए ।

भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुने कुरामा आशंका रहेको भन्दै त्यसतर्फ निरन्तर खबरदारी हुनुपर्ने र सरकारले दह्रोसँग खुट्टा टेक्नुपर्ने बताए । तर, अस्थिर सरकार रहेका कारण जताततै आशंका भने रहेको उनले भनेका छन् ।
नक्सालमा आयोजित कार्यक्रममा सहभागी रास्वपाका सभापति लामिछानेले सरकारले भ्रष्टाचार गर्ने पूर्वगृहमन्त्रीलाई समेत कारबाहीको दायरामा ल्यायो भन्ने नजिर अन्तर्राष्ट्रियस्तरमा देखाउनु राम्रो भएको बताए । लामिछानेले अन्य धेरै काण्डको अनुसन्धान गर्नुपर्ने र फाइल खोल्नुपर्ने समय आएको भन्दै त्यतातर्फ सरकार लाग्नुपर्ने बताए ।

नागरिक अगुवा सुसन वैद्यले भ्रष्टाचारमा संलग्न नरहेका व्यक्ति कतै भाग्नु नपर्ने भन्दै निर्दोष व्यक्तिले अनुसन्धानमा सघाउनुपर्ने बताए ।
उनले भ्रष्टाचारमा संलग्न दाइ भाउजू वा आफ्नै परिवारका अन्य कोही सदस्य दोषी रहेको पाइए पनि कारबाही हुनुपर्ने औंल्याए ।
बृहत् नागरिक आन्दोलन पोखराले शनिबार पोखरामा कविता र सडक नाटकसहित प्रदर्शन गरेको छ । पोखरामा कवि बाबु साहेबले राजनीतिक दलबाटै भइरहेको बेथितिविरुद्ध नागरिकलाई ‘अब त बोल्नुपर्छ’ भन्दै भ्रष्टाचारविरुद्ध मुख खोल्न आग्रह गरे ।
कार्यक्रममा पोखरा थियटरका कलाकारले सडक नाटक प्रस्तुत गर्दै भ्रष्टाचार, राजनीतिक दलका चलखेल र हस्तक्षेपविरुद्ध नाटकमार्फत सांकेतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।

यसैगरी, नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री खाँणको निर्वाचन क्षेत्र रुपन्देही–३ मा पनि शनिबार भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिएको छ । खाँणको निर्वाचन क्षेत्र रहेको तिलोत्तमा नगरपालिकास्थित मणिग्राम चोकमा युवाहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले जनस्तरबाटै उठेको आवाजलाई सरकारले सुन्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउने बताउँदै आइरहेका छन् ।
नक्कली शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परिसकेका छन् । उनी प्रहरी अनुसन्धानका लागि हिरासतमा छन् ।

यसैगरी, नेकपा एमालेले पार्टीबाट कारबाही गरेका एमालेका सचिव टोपबहादुर रायमाझीको समेत सो प्रकरणमा संलग्नता रहेको भन्दै प्रहरीले खोजी गरिरहेको छ । उनी प्रहरीको फरार सूचीमा छन् । प्रहरीले हालसम्म नक्कली शरणार्थी प्रकरणमा १२ जनालाई पक्राउ गरिसकेको छ । आजको राजधानी दैनिकबाट

    सम्बन्धित समाचार...