१६ बैशाख २०८१, आईतवार

कर्नाटक विधानसभा निर्वाचनमा कांग्रेसको स्पष्ट बहुमत, भाजपाले नमिठो हार ब्यहोर्यो

karnataka congress

भारतको कर्नाटक विधानसभा निर्वाचनमा भारतीय कांग्रेसले स्पष्ट बहुमत हासिल गरेको छ । २ सय २४ सिटका लागि भएको निर्वाचनमा कांग्रेसले १ सय १४ सिटमा जित हासिल गरेको हो ।

कर्नाटक विधानसभामा पूर्ण बहुमत हासिल गर्न १ सय १३ सिट आवश्यक पर्छ । यद्यपि जारी मतगणनामा कांग्रेस अझै २२ स्थानमा अगाडि छ । हालसम्म घोषित १ सय ८५ सिटको मत परिणामअनुसार सत्तारुढ भारतीय जनता पार्टी–भाजपा ४० सिटमा सीमित भएको छ । निर्वाचनमा कर्नाटक सरकारमा सहभागी भाजपाका १२ मन्त्री पराजित भएका छन् । जनता दल सेक्युलर भने २० सिटसहित तेस्रो स्थानमा छ । भारतीय सञ्चारमाध्यमहरुका एक्जिट पोलले पनि यसपटक कर्नाटकमा भाजपा पराजित हुने देखाएका थिए ।

कर्नाटकमा सन् १९८५ यता कुनै पनि दलले लगातार दुई कार्यकाल सरकार बनाएका छैनन् । यहाँ कुनै पनि दलले पूर्ण बहुमतको सरकार बनाउन १ सय १३ सिट ल्याउनुपर्छ । अघिल्लो निर्वाचनमा कर्नाटकमा भाजपाको १ सय १६, कांग्रेसको ६९ र जेडीएसको २९ सिट आएको थियो । सरकार बनाउने स्पष्ट जनादेश पाएपछि कांग्रेसले भोलि बेंगलुरुमा संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेस नेता राहुल गान्धीले नयाँदिल्लीस्थित मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा आफूहरु गरिबका मुद्दामा लडेकाले यो सफलता हासिल गरेको बताए । कर्नाटकमा जनताको जित भएको उनको भनाइ छ । जनताका लागि गरेको ५ वटा वाचा पहिलो मन्त्रिपरिषद् बैठकले पूरा गर्ने उनले बताए । यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि कर्नाटकमा जितका लागि कांग्रेसलाई बधाइ दिएका छन् ।

    सम्बन्धित समाचार...