२० बैशाख २०८१, बिहीबार

केन्द्रीय नेता संगठित अपराधको आरोपमा पक्राउ पर्दा कांग्रेस मौन !

khad 1

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नै नेता पक्राउ पर्दा पनि नेपाली कांग्रेस मौन बसेको छ ।

केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेको चार दिनसम्म पनि कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गरेको छैन । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले यो प्रकरणबारे कुनै आधिकारिक निर्णय गरेको छैन ।

हिजो र अस्ति बसेको पदाधिकारी बैठकमा नक्कली शरणार्थी प्रकरणमा प्रक्राउ परेका खाणका बारेमा निर्णय लिनेबारे चर्को विवाद नै भएको थियो । उपसभापति धनराज गुरुङ, महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई तत्काल कारबाही गर्नुपर्ने धारणा राखेका थिए । तर संस्थापन पक्षले अनिच्छा देखाएपछि कुनै पनि निर्णय भएन ।

सुशासनको नारा वकालत गर्ने कांग्रेसले स‌ंगठित अपराधमा आफ्नै नेता संलग्न भएको आरोप लाग्दासमेत केही नबोलि बस्दा नेतृत्वको नियतमै प्रश्न उठेको छ । सोही प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझीलाई पार्टीले निष्कासन गरिसकेको छ । नक्कली शरणार्थी प्रकरणमा खाण पत्नी मञ्जु र पार्टी सभापति शेरबहादुर देउवा पत्नी आरजु समेतको नाम जोडिएको छ ।

यसैबीच कांग्रेस महामन्त्री थापा र शर्माले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर नक्कली शरणार्थी प्रकरणको अनुसन्धानलाई प्रभावकारी बनाउन माग गरेका छन् ।